‘६४ वटै वडामा अधिवेशन हुन्छ, कुनै द्विविधा छैन’ : का.वा. सभापति नवराज थोकर

रामेछाप । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा देशभर सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको पहिलो आधारशिला मानिने वडा अधिवेशन असोज ३ र ४ गते देशभर एकैसाथ आयोजना हुँदैछ ।
यसै सन्दर्भमा रामेछाप जिल्लाको सांगठनिक तयारी, वडा अधिवेशनको वस्तुस्थिति र पार्टीभित्रको आन्तरिक व्यवस्थापनबारे नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरसँग गरिएको कुराकानीको सम्पादित अंशः


केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते वडा अधिवेशनको मिति तय गरेको छ । रामेछाप जिल्लामा यसको तयारी कस्तो छ?रामेछाप जिल्लामा असोज ३ र ४ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । केन्द्रीय निर्वाचन समितिले पठाउनुभएका जिल्ला निर्वाचन अधिकृत रामेछाप आउनुभएर आफ्नो जिम्मेवारी सम्हालिसक्नुभएको छ । हामीले जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू र ६४ वटै वडाका जिम्मेवार साथीहरूसँग निरन्तर संवाद र छलफल गरिरहेका छौँ । प्रत्येक वडामा खटिने मतदान अधिकृत र आवश्यक कर्मचारीहरूको टुङ्गो लागिसकेको छ । रामेछापका २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल ६४ वटै वडामा अधिवेशन भव्य र उत्साहका साथ सम्पन्न हुने वातावरण बनेको छ ।


वडा अधिवेशनमा क्रियाशील सदस्यहरूको उत्साह कस्तो पाउनुभएको छ ?
अत्यन्तै उत्साहजनक वातावरण छ । तल्लो तहका कार्यकर्ता र क्रियाशील सदस्यहरू लामो समयदेखि आन्तरिक लोकतन्त्रको यो अभ्यासलाई पर्खिरहनुभएको थियो । वडा अधिवेशन भनेको पार्टीको जग बलियो बनाउने अवसर हो । गाउँ–गाउँ र टोल–टोलमा अहिले अधिवेशनकै चर्चा छ । युवा, महिला, समावेशी समुदाय र पुराना पाका नेता–कार्यकर्ताहरू सबैजना आ–आफ्नो वडामा नेतृत्व चयन र प्रतिनिधि छनोटका लागि उत्साहित हुनुहुन्छ । रामेछाप कांग्रेसमा नयाँ ऊर्जा सञ्चार भएको हामीले महसुस गरेका छौँ ।


सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना छ कि चुनावी प्रतिस्पर्धा नै हुन्छ ?
हाम्रो पहिलो र मूल प्रयास भनेकै सहमति र सहकार्य हो । सकेसम्म ६४ वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन होस् र पार्टीभित्रको एकता अझ मजबुत बनोस् भन्ने हाम्रो चाहना छ । हामीले जिल्ला र स्थानीय तहका सबै साथीहरूलाई हार्दिकताका साथ आपसमा बसेर सहमति निर्माण गर्न आग्रह गरेका छौँ । तर, जहाँ सहमति हुन सक्दैन, त्यहाँ लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पारदर्शी रूपमा निर्वाचन हुन्छ । निर्वाचन हुनु पनि लोकतन्त्रको सुन्दर गहना हो । त्यसैले सहमति वा स्वस्थ प्रतिस्पर्धा, जुन विधिबाट भए पनि त्यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौँ ।


कतिपय ठाउँमा अधिवेशन सर्ने वा अन्य द्विविधाहरू रहेको भन्ने हल्ला पनि सुनिन्छ नि, यसमा कतिको सत्यता छ?
यो पूर्ण रूपमा भ्रामक र निराधार कुरा हो । म रामेछापका सम्पूर्ण क्रियाशील सदस्य, नेता तथा कार्यकर्ता साथीहरूलाई स्पष्ट पार्न चाहन्छु, कुनै पनि किसिमको भ्रम वा अफवाहको पछि नलाग्नुहोला । असोज ३ र ४ गते तोकिएकै समयमा रामेछापका सबै ६४ वटा वडामा अधिवेशन हुन्छ । केन्द्रीय निर्वाचन समितिले पनि विज्ञप्ति जारी गरेर सबै तयारी पूरा भइसकेको र कुनै अफवाहमा नलाग्न अपिल गरिसकेको छ । रामेछापमा पनि कुनै प्राविधिक वा सांगठनिक अड्चन छैन ।


वडा अधिवेशनमार्फत कस्तो नेतृत्व र कस्ता प्रतिनिधिहरू आउने अपेक्षा गर्नुभएको छ ?
वडा अधिवेशनले नयाँ वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरू पनि छनोट गर्दछ । हामी चाहन्छौँ, पार्टीप्रति निष्ठावान्, जनताको सुख–दुःखमा साथ दिने, विचार र संगठनलाई अगाडि बढाउन सक्ने जुझारु नेतृत्व तल्लो तहबाटै छानिएर आओस् । युवाहरूको ऊर्जा र पुराना अनुभवी साथीहरूको मार्गदर्शनलाई मिलाएर समावेशी र सशक्त टोली निर्माण होस् भन्ने हाम्रो अपेक्षा छ । तल्लो तहबाट बलियो नेतृत्व आएमा मात्रै १५औँ महाधिवेशन सफल हुन्छ र आगामी दिनमा रामेछापमा कांग्रेस अझै पहिलो र सर्वप्रिय पार्टीका रूपमा स्थापित हुनेछ ।


अन्त्यमा, रामेछाप कांग्रेसका क्रियाशील सदस्यहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
म नेपाली कांग्रेस रामेछापका सम्पूर्ण क्रियाशील सदस्य, शुभचिन्तक तथा सबै तहका नेता–कार्यकर्ता साथीहरूलाई असोज ३ र ४ गते हुने वडा अधिवेशनमा पूर्ण उत्साह र सक्रियताका साथ सहभागी हुन हार्दिक अनुरोध गर्दछु । पार्टीको आन्तरिक लोकतन्त्रलाई अनुशासित, मर्यादित र भव्य बनाउँदै अधिवेशन सफल पारौँ । कुनै पनि भ्रामक प्रचारमा नलागी एकताबद्ध भएर पार्टी निर्माणको यो अभियानमा जुट्न म सबैमा अपिल गर्दछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button