नेपाली कांग्रेसको १५ औं महाधिवेशनः ७३ जिल्लामा उत्साहजनक रूपमा वडा अधिवेशन सम्पन्न, बाँकी वडामा भोलि पनि हुने

काठमाडौं । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया देशैभर उत्साहजनक रूपमा अघि बढेको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हिजो (असोज ३) बाट सुरु भएको वडा अधिवेशन आज दोस्रो दिन पनि ७३ जिल्लामा शान्तिपूर्ण र उत्साहप्रद रूपमा सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज ताप्लेजुङ, इलाम, झापा, मोरङ, काठमाडौंसहित ७३ जिल्लाका ६,१३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।
कुन–कुन ठाउँमा बाँकी छन्?
केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरी (क्षेत्र नं. २ र ४), सिरहा, मोरङ (क्षेत्र नं. ६), रौतहट (क्षेत्र नं. १), सर्लाही (क्षेत्र नं. २), परासी (क्षेत्र नं. २) तथा आज विभिन्न कारणले सम्पन्न हुन छुट भएका सम्पूर्ण वडाहरूमा वडा अधिवेशन भोलि असोज ५ गते सोमबार पनि निरन्तर जारी रहनेछ।
पार्टीका केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा तोकिएका सम्पूर्ण क्षेत्र र छुट भएका वडाहरूमा निर्धारित कार्यतालिका अनुसार प्रक्रिया पूरा गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गरिएको छ।




