आगो लगाउनेलाई पक्रन प्रहरीले खटायो ‘विशेष टोली’

रामेछाप । जिल्लाका विभिन्न स्थानमा सुनियोजित रूपमै डढेलोका घटनाले आतङ्कित बनाएपछि नियन्त्रण गर्न रामेछाप प्रशासन र प्रहरीले विशेष टोली खटाएको छ ।
बाक्लो मानव बस्ती रहेका क्षेत्र आसपास नै तीव्र रूपमा आगो फैलिएपछि प्रशासन र प्रहरीले आन्तरिक छलफल गरेर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न सादा पोसाकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
‘अब हामी कठोर बनेर निर्णय गर्न बाध्य भयौँ । जिल्लाका उच्च जोखिम क्षेत्रलाई मध्यनजर गरेर हामीले टोली परिचालन गरी सक्यौँ’, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जन गिरीले भने ।
जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले पनि प्रकोपकै रूपमा फैलिएको आगोलागिलाई नियन्त्रण गर्नको लागि आगलागीमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउन सहयोग गर्न अनुरोध गरे ।



