पत्रकार महासंघ रामेछापद्वारा दुई पत्रकार सम्मानित

रामेछाप — नेपाल पत्रकार महासंघ रामेछाप शाखाको २१औँ वार्षिक साधारण सभाको अवसरमा जिल्लामा क्रियाशील दुई पत्रकार नगदसहित सम्मानित भएका छन्।

शनिबार मन्थलीमा आयोजित साधारण सभामा पत्रकार हिमाल ढुङ्गेल र सुमित श्रेष्ठलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो। प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी लगायतले उनीहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले खाँडादेवी गाउँपालिका–६ माकादुमका वडाध्यक्ष नारायणबहादुर कार्कीले स्थापना गरेको पुरस्कारबाट अग्रज पत्रकार हिमाल ढुङ्गेल सम्मानित भएका हुन्। उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको महासंघले जनाएको छ।

पूर्व जिल्ला अध्यक्षसमेत रहेका ढुङ्गेल हाल नेपाल टेलिभिजन मा आबद्ध छन्। उनले लामो समयदेखि जिल्लाका पर्यटन, सामाजिक तथा विकाससम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

त्यस्तै, पत्रकार रमेश ढुङ्गेलले आफ्नी आमाको स्मृतिमा स्थापना गरेको अक्षय कोषबाट पत्रकार सुमित श्रेष्ठ सम्मानित भएका छन्। महिलाका हकअधिकार, स्वास्थ्य सचेतना तथा दुर्गम क्षेत्रमा रहेका महिलासम्बन्धी विषयलाई निरन्तर पत्रकारितामार्फत उजागर गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको महासंघले जनाएको छ।

लामो समयदेखि रामेछापमा रहेर पत्रकारिता गर्दै आएका श्रेष्ठ स्थानीय सञ्चारमाध्यम सञ्चालनसँगै जिल्लाबाट प्रकाशित दैनिक तथा साप्ताहिक पत्रिकाको सम्पादन कार्यमा सक्रिय छन्।

महासंघ रामेछापका अनुसार दीपककुमार घिमिरे नेतृत्वको वर्तमान कार्यसमितिले पहिलो वार्षिक साधारण सभामार्फत यी दुई पुरस्कारलाई संस्थागत गर्दै हरेक वार्षिक साधारण सभामा नियमित रूपमा प्रदान गर्ने व्यवस्था सुरु गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button