मनसुनजन्य विपद् न्यूनीकरणमा रामेछापको पूर्वतयारी ः सुरक्षा निकायको संयुक्त अभ्यास

रामेछाप । मनसुन सुरु हुनुअघि जिल्लामा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता विपद्‌को पूर्वतयारीलाई प्रभावकारी बनाउन रामेछापमा सुरक्षा निकायले संयुक्त विपद् उद्धार अभ्यास सम्पन्न गरेका छन्। जिल्ला सुरक्षा समितिको आयोजनामा तीन दिनदेखि सञ्चालन हुँदै आएको “मनसुनजन्य विपद् उद्धार पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास बुधबार सम्पन्न भएको हो।

मनसुन नजिकिँदै जाँदा प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले उद्धार तथा प्रतिकार्यलाई थप व्यवस्थित, द्रुत र समन्वयात्मक बनाउने उद्देश्यले अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा वर्षेनी बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति हुने गरेकाले यसपटक सम्भावित जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सुरक्षा निकाय, स्वास्थ्य संस्था र सरोकारवालाबीच समन्वयात्मक अभ्यास गरिएको हो।

जिल्ला सुरक्षा समितिको नेतृत्वमा जेठ ११ गतेदेखि सुरु भएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षा टोली सहभागी थिए। तीन दिनसम्म सञ्चालन भएको अभ्यास खड्गदल गण रामेछाप परिसर तथा आसपासका क्षेत्रमा उद्धारको नमुना प्रदर्शन गरिएको थियो।

कार्यक्रममा नदीमा आएको आकस्मिक बाढीमा फसेका व्यक्तिको उद्धार, पहिरोमा पुरिएका नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया, घाइतेको तत्काल उपचार, जोखिम क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा विभिन्न सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय कसरी गर्ने भन्ने विषयमा व्यवहारिक अभ्यास गरिएको थियो।

अभ्यासमा नेपाली सेनाले विपद्‌को समयमा प्रयोग गरिने उद्धार सामग्री, प्राथमिक उपचार तथा खोज–उद्धार प्रक्रियाको प्रदर्शन गरेको थियो। नेपाल प्रहरीले जनसुरक्षा व्यवस्थापन, भीड नियन्त्रण र जोखिम क्षेत्रको व्यवस्थापनमा आफ्नो भूमिका प्रस्तुत गरेको थियो भने सशस्त्र प्रहरी बलले बाढीजन्य जोखिममा उद्धारका लागि प्रयोग हुने विशेष उपकरण र पानीमा गरिने उद्धार अभ्यास प्रदर्शन गरेको थियो।

कार्यक्रममा मन्थली अस्पताल रामेछापले विपद्पछि घाइतेको उपचार तथा स्वास्थ्य व्यवस्थापनका विषयमा सहकार्य गरेको थियो। त्यसैगरी नेपाल रेडक्रस सोसाइटी रामेछाप र तामाकोशी मरिन एडभेन्चर प्रा।लि। ले उद्धार तथा राहत व्यवस्थापनमा सहयोग गरेका थिए।

कार्यक्रमका प्रमुख आतिथि प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले विपद् भनेर आउदैँन, आकस्मिक आउछ, त्यसैले आकस्मिक विपद्मामा स्थानिय स्रोत साधनको प्रयोगले उद्धारमा सहयाृेग पुग्ने बताए । कार्यक्रममा खड्गदल गण रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा रामेछाप, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, मन्थली अस्पताल, रेडक्रसका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। बुधबार भएको संयुक्त अभ्यास प्रत्यक्ष अवलोकन गर्न स्थानीयको पनि बाक्लो उपस्थिति थियो।

सुरक्षा निकायका अधिकारीहरूले मनसुनको समयमा हुन सक्ने विपद्‌लाई केवल प्राकृतिक घटना नभई समयमै तयारी र समन्वय भए क्षति कम गर्न सकिने चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्। अभ्यासले सुरक्षा निकायबीचको सहकार्य थप मजबुत बनाउनुका साथै विपद्को समयमा कसरी छिटो र प्रभावकारी रूपमा परिचालन हुने भन्ने विषयमा व्यावहारिक अनुभव आदानप्रदान गर्न सहयोग पुगेको उनीहरूको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button