गाई किन्नेदेखि गोठ सुधारसम्म मेलुङको अनुदान

जिल्लाको मेलुङ गाउँपालिकामा एक घर, एक गाईपालन अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष सुरु भएयता कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यसहित आर्थिक अवस्थालाई अझै मजवुत बनाउन यो अभियान थालनी गरेको हो ।
किसानलाई पशुपालनमार्फत आत्मनिर्भर बनाउन पालिकाले जर्सी गाई किन्न ५० हजार सम्म अनुदान दिने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । उनले भने, ‘एक घर, एक गाईपालन अभियानमा हामीले कृषकलाई गाई किन्न ५० हजारसम्म अनुदान दिएका छौं ।’
यो अभियानले कृषकहरु खुसी भएको बताउँदै अध्यक्ष थोकरले भने, ‘ल्याउन पर्ने ३४ वटा गाई मध्ये १६ वटा गाई ल्याईसकेका छौं, अरु ल्याउन बाँकी छ ।’ एउटा गाईको १ लाख देखि १ लाख २५ हजार सम्म पर्ने र सोही अनुसार कृषकहरुले छानेर लगिने उनले बताए । पालिकाले गोठ सुधारका लागि पनि ५० हजारसम्म अनुदान दिने र घाँसका विरुवाहरुमा पनि अनुदान दिने अध्यक्ष थोकरले बताए । उनले भने, हामीले कुषकहरुलाई गाई खरिद गर्नेदेखि गोठ सुधार र घाँसको विरुवा खरिदमा पनि अनुदान दिएका छौं, यो मात्र नभएर आलु खेती, केरा खेतीमा गर्नेहरुका लागि पनि अनुदान दिएका छौँ ।’
गाउँपालिकाले वडानम्बर–२ मा मात्र ३४ वटा गाई पुर्याउनको लागि १७ लाख बजेट विनियोजन गरिएको छ । यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासको लागि डेढ करोड बजेट विनियोजन गरिएको पालिकाका अध्यक्ष थोकरले बताए । मेलुङ गाउँपालिकामा कृषि, फलफूल र पशुपालनको लागि उपयुक्त ठाउँ र वातावरण भएको उनी बताउँछन् । जसअनुसार पालिकाले दिएको अनुदानले पनि कृषकलाई राहत मिलेको उनको भनाई छ ।
जर्सी गाईले राम्रो मात्रामा दूध उत्पादन गर्ने भएकाले यसको माग पनि उच्च छ । जर्सी गाईले प्रतिदिन १९ लिटरसम्म दूध दिने कृषकहरु बताउँछन् । गाईपालक किसानलाई सजिलो होस् भनि गाउँपालिकाले नै नजिकै दूध संकलन केन्द्र राखिदिएको छ । गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेवर, कल्लेरी, उपल्लो गाउँमा दूध संकलन केन्द्र राखिएको वडा नं २ का वडाध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिए ।
संकलन केन्द्रमा दूध पुर्याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषकहरू थप प्रोत्साहित भएको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button