‘रामेछापमा नेपाली कांग्रेस मजबुत छ ’- केन्द्रीय सदस्य खड्का

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा वडा अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । तल्लो तहबाटै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै सङ्गठन निर्माणमा जुटेको नेपाली कांग्रेस रामेछापको समग्र साङ्गठनिक अवस्था, आगामी अधिवेशनको तयारी र पार्टी सुदृढीकरणका विषयमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः
रामेछापका सबै ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । यस सफलतालाई कसरी लिनुभएको छ ?
सबैभन्दा पहिले म रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा उत्साहजनक र लोकतान्त्रिक वातावरणमा अधिवेशन सम्पन्न गराउन अहोरात्र खट्नुहुने सम्पूर्ण आदरणीय नेता, निष्ठावान् कार्यकर्ता, खटिनुभएका निर्वाचन प्रतिनिधि, शुभेच्छुक तथा सहयोगी साथीहरूमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु ।
यो सफलता केवल एउटा औपचारिक प्रक्रिया पूरा हुनु मात्र होइन, पार्टीभित्रको आन्तरिक लोकतन्त्र र कार्यकर्ताको जुझारुपनको प्रत्यक्ष प्रमाण हो । लोकतान्त्रिक विधि र प्रक्रियालाई पूर्ण रूपमा आत्मसात् गर्दै हाम्रा साथीहरूले देखाउनुभएको समर्पण र सक्रिय सहभागिताले रामेछापमा कांग्रेसको जग कति मजबुत छ भन्ने कुरा प्रष्ट पारेको छ ।
वडा अधिवेशन सकिएसँगै अब आगामी चरणका अधिवेशनको तयारी कसरी अगाडि बढिरहेको छ?
वडा तहको अधिवेशन पार्टीको मेरुदण्ड हो । जग बलियो भएपछि माथिल्लो संरचना स्वतः बलियो हुन्छ । अब हामी दोस्रो चरणको तयारीमा छौँ । जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकासहित आठवटै स्थानीय तहमा पालिका अधिवेशन, त्यसपछि प्रदेश सभा क्षेत्रीय अधिवेशनतर्फ केन्द्रित हुनेछौँ ।
पार्टीका हरेक तहका अधिवेशनलाई प्रतिस्पर्धा भन्दा पनि सहमति, सहकार्य र एकताको सन्देश दिने चौतारीका रूपमा अगाडि बढाउन हामीले समन्वय गरिरहेका छौँ । पालिका, क्षेत्र र जिल्ला अधिवेशनमा पनि योग्य, निष्ठावान् र नागरिकसँग जोडिएका साथीहरूलाई नेतृत्वमा ल्याउने गरी वातावरण बनाइरहेका छौँ ।
आगामी अधिवेशन र समग्र साङ्गठनिक अभियानका लागि पार्टीका साथीहरूलाई के आह्वान गर्न चाहनुहुन्छ ?
म सम्पूर्ण पार्टी पङ्क्ति, जिल्लाका साथीहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू र आम समर्थकहरूलाई आगामी दिनमा हुने पार्टीको नगर र क्षेत्र अधिवेशनका साथै समग्र साङ्गठनिक अभियानमा यहाँहरू सबैको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिता रहोस् ।
अधिवेशनहरूमा हुने आन्तरिक प्रतिस्पर्धालाई व्यक्तिगत तिक्तताका रूपमा होइन, स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्छ । निर्वाचन वा सहमति जुनसुकै प्रक्रियाबाट नेतृत्व चयन भए पनि अधिवेशन सकिएपछि हामी सबै ‘जय नेपाल’को एउटै झण्डामुनि गोलबद्ध भएर सङ्गठन निर्माणमा लाग्नुपर्छ ।
नेपाली कांग्रेसलाई रामेछापमा अझ सुदृढ र जनमुखी बनाउन तपाईँको भूमिका र योजना के छ ?
हाम्रो मुख्य ध्येय भनेकै नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउनु हो । केन्द्रीय सदस्यको नाताले मेरो भूमिका जिल्लाका सबै नेता–कार्यकर्तालाई जोड्ने, केन्द्र र जिल्लाबीचको पुलको रूपमा काम गर्ने र पार्टीलाई जनताका सुख–दुःखसँग प्रत्यक्ष जोड्नेमा रहनेछ ।
हामीले गाउँ–गाउँ पुगेर जनताका वास्तविक समस्या पहिचान गर्ने, स्थानीय विकास निर्माणका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्ने विशेष अभियान चलाउनेछौँ । नेपाली कांग्रेस सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि जनताको दुःखको साथी हो भन्ने कुरा रामेछापका आम नागरिकले महसुस गर्ने गरी हामी अगाडि बढ्नेछौँ ।
अन्त्यमा, रामेछापका सम्पूर्ण कांग्रेसजन र आम मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
तल्लो तहदेखि नै पार्टीमा नयाँ ऊर्जा र उत्साह थपिएको छ । वडा अधिवेशनमा देखाउनुभएको अनुशासित र सक्रिय सहभागिताप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दछु । आगामी पालिका र क्षेत्र अधिवेशनलाई पनि यसै गरी भव्य रूपमा सम्पन्न गर्न सबैको हातेमालो आवश्यक छ ।
हामीभित्रका सानातिना मतभेदहरूलाई बिर्सेर, सङ्गठनको बृहत्तर हित र लोकतन्त्रको रक्षाका लागि एकजुट बनौँ । नेपाली कांग्रेसलाई रामेछापको पहिलो र सर्वाधिक लोकप्रिय पार्टी बनाउने अभियानमा निरन्तर जुटिरहौँ । जय नेपाल!



