Trending

पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना : १३ को मृत्यु, ३४ घाइते

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहानसम्म १३ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो । बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा दुर्घटना भएको हो । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।
दुर्घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा डडेलधुरा अस्पतालमा थप पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा, चार जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशबराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी र ४६ वर्षीय किसनदत्त जोशी रहेका छन् ।
यस्तै, बझाङ केदारस्यु गाउँपालिका–६ का ६० वर्षीय मोहनदेव भट्ट, केदारस्यु–७ का २७ वर्षीय केशबदत्त भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । बस चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।
घाइतेहरूको उपचार जारी रहेको र अधिकांशको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button