लिखुतामाकोशीको धोबी डाँडामा गुम्बा निर्माण सुरु, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा

रामेछाप — लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी डाँडामा गाउँपालिकाकै लगानीमा सुविधा सम्पन्न गुम्बा निर्माण सुरु भएको छ। बौद्ध धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा आवश्यक पूर्वाधार अभावबीच गुम्बा निर्माण अघि बढाइएपछि स्थानीयले स्वागत गरेका छन्।
२ करोड ५५ लाख ७३ हजार ६ सय ७० रुपैयाँ लागत अनुमान गरिएको भवनको बिहीबार लामा गुरुले भूमिपूजा गरेपछि गाउँपालिकाका अध्यक्षले शिलान्यास गर्दै निर्माण कार्य थालिएको हो। ठेक्का प्रक्रियामार्फत सुरु गरिएको परियोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय ज्ञानबहादुर तामाङका अनुसार आफ्नै गाउँमा पूजापाठ, धार्मिक संस्कार र प्रवचन सञ्चालन गर्न सकिने स्थायी संरचना बन्नु समुदायका लागि महत्वपूर्ण उपलब्धि हो। यसअघि आवश्यकताअनुसारको गुम्बा नहुँदा विभिन्न धार्मिक कार्यक्रम सञ्चालनमा कठिनाइ हुँदै आएको थियो।
गाउँपालिका अध्यक्ष केशव महतले धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणलाई जोड दिँदै नागरिककै आग्रहमा योजना अघि बढाइएको बताए। उनका अनुसार धोबी डाँडामा हिन्दु तथा अन्य धर्मावलम्बीका देवलय र मन्दिर भए पनि बौद्ध धर्मावलम्बीका लागि उपयुक्त गुम्बा र सतलको अभाव थियो। नयाँ संरचनाले सबै धर्मावलम्बीबीच सहिष्णुता र आपसी सद्भाव थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
वडा नं। ५ का वडाध्यक्ष रोमबहादुर तामाङले धर्म, संस्कृति र रीतिरिवाज संरक्षण स्थानीय सरकारको दायित्व भएकाले समुदायको मागअनुसार योजना कार्यान्वयनमा ल्याइएको बताए। नेपाली काँग्रेस लिखुतामाकोशीका सभापति सुन्दर खड्काले पनि बौद्ध समुदायले लामो समयदेखि भोग्दै आएको पूर्वाधार अभाव समाधानतर्फ कदम चालिनु सकारात्मक भएको उल्लेख गरे।
गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको यो योजना कार्यान्वयनमा आएसँगै धोबी डाँडालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ।



