Trending

ठोसेमा निःशुल्क आयुर्वेद शिविर, २ सयभन्दा बढी लाभान्वित

रामेछाप — वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको छ।
गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा आयोजित शिविरमा डा. सविता भण्डारी, डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक, खोकी, एलर्जी तथा छालासम्बन्धी पुराना रोगका बिरामीको संख्या बढी देखिएको डा. भण्डारीले जानकारी दिइन्।
शिविरमा रामेछापको गोकुलगंगा गाउँपालिका र दोलखाको जिरी गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपककुमार कार्कीले बताए। उनका अनुसार शिविरमा २ सयभन्दा बढी बिरामीले सेवा लिएका छन्।
गाउँमै शिविर सञ्चालन हुँदा सेवा लिन सहज भएको स्थानीयले बताएका छन्। लामो समयदेखि जिउ चिलाउने समस्या भोगिरहेका स्थानीय पूर्णबहादुर कार्कीले हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक र महिलालाई गाउँमै शिविर हुँदा ठूलो राहत भएको बताए।
चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नबराज पथिकका अनुसार स्थानीय तहको मागअनुसार जिल्लाका विभिन्न क्षेत्रमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको छ।
चिकित्सालयले मन्थली र आसपासका क्षेत्रमा साप्ताहिक रूपमा घरदैलो स्वास्थ्य सेवा पनि सञ्चालन गर्दै आएको छ। विभिन्न टोलमा पुगेर सेवा दिने उक्त कार्यक्रममा पनि स्थानीयको उल्लेख्य सहभागिता रहने गरेको चिकित्सालयका डाक्टर उत्तम गैरेले जानकारी दिए।
चिकित्सालयले बिरामी परीक्षणका साथै निःशुल्क औषधि वितरण, पूर्वकर्म/पञ्चकर्म, फिजियोथेरापी, अकुपञ्चार, प्याथोलोजी ल्याब, स्तनपान गराउने आमाका लागि कार्यक्रम तथा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनलगायतका सेवा प्रदान गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button