चोरीको सुन खरिद गर्ने मन्थलीका दुई सुनचाँदी व्यवसायी पक्राउ

रामेछाप— चोरीको सुनका गहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले मन्थलीबाट थप दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मन्थली नगरपालिका–१ स्थित दीप लक्ष्मी सुन चाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाईली र सोही वडास्थित सुविना सुन चाँदी पसलका सञ्चालक २८ वर्षीया कनिषा विश्वकर्मा रहेका छन्। उनीहरूलाई मन्थली न.पा. वडा नं. १ कटहरबोटबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्मिता श्रेष्ठ माझीको जाहेरीले नेपाल सरकार वादी भई चलेको चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रतिवादी मैया कार्कीले चोरीका गहना ती पसलहरूमा बिक्री गरेको बयान दिएकी थिइन्। सोही बयानका आधारमा पीडित पक्षबाट परेको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनीहरूलाई खोजतलास गरी आज शुक्रबार पक्राउ गरेको हो।

प्रहरीले दीप लक्ष्मी सुन चाँदी पसलबाट पीडितको कानबाट चोरी भएको ४२ लाल २ प्वाइन्ट तौल बराबरको सुनको रिङ दुई थानसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button