ट्रयाक खोलिएको २६ वर्ष पछि कालोपत्रे

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका अन्तर्गतको हलेदे–धोबी, सिरिसे–ढाडे सडक कालोपत्रेको काम सुरु भएको छ । सडक ट्र्याक खोलिएको २५ बढी भन्दा बढी भए पनि सडक विस्तार तथा कालोपत्रे हुन सकेको थिएन ।
भत्किएर भद्रगोल अवस्थामा रहेको यो सडकमा दैनिक हजारौँ यात्रुको आवत–जावत हुने गरेको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङका वडा अध्यक्ष कैलाश दर्लामी बताउँछन् । उनी भन्छन् – तिल्पुङ हलेदे–धोबी, सिरिसे–ढाडे सडकमा कालोपत्रेको काम सुरु भएको छ । ‘ट्र्याक खोलिएको झन्डै २६ वर्षसम्म यो सडक विस्तार तथा कालोपत्रेका लागि राज्यको ध्यान गएन । भत्किएर भद्रगोल सडक कारण जोखिम मोलेर सर्वसाधारण यात्रा गर्न बाध्य थिए । अहिले लिखुतामाकोशी गाउँपालिका सिङ्गो टिम र हामी सबैको अथक मेहनत र प्रयासले सडक कालोपत्रेको काम सुरु भएको छ ।
वषौँदेखि अलपत्र रहेको दैनिक हजारौँ यात्रुको आवत–जावत हुने तिल्पुङ यो सडक कालोपत्रेको काम सुरु हुँदा मन नै आनन्द भएकाले कसैले कसैको विरोध नगरी यो पवित्र कार्यलाई सफल बनाउनुपर्ने दर्लामीको भनाइ छ । यो सडक कालोपत्रेका लागि लिखुतामाकोशी गाउँपालिकाले गत वर्ष नै पाँच करोड बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहु वर्षीय योजना अन्तरगत २० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
गाउँपालिकाको बजेटबाट एक हजार ८०० मिटर र प्रदेश सरकारको बजेटबाट साढे ६ किलोमिटर सडक विस्तार तथा कालोपत्रे गर्ने गरी डिपिआर बनेको गाउँपालिका अध्यक्ष केशव महतले बताए । अध्यक्ष केशव महतले भने – गत आर्थिक वर्ष नै कालोपत्रे हुनुपर्ने भए पनि ढिला गरी बल्ल अहिले सुरु भएको छ । गाउँपालिकाको गत आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट काम भइरहेको गौरव आयोजना हलेदे–धोबी, सिरिसे–ढाडे सडकको कालोपत्रेको कामलाई थप गुणस्तरीय बनाउनका लागि पालिकाले अनुगमन गरिरहेको छ ।