तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच मिलापपत्र

रामेछाप । मन्थली विमानस्थलमा तारा एयरका दुई क्याप्टेनबीच भएको विवाद जिल्ला प्रहरी कार्यालय रामेछापले मिलाएको छ ।
शुक्रबार दिउँसो उक्त कार्यालयमा भएको छलफलपछि वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच मिलापपत्र भएको हो ।
प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार छलफलमा क्याप्टेन श्रेष्ठले वरिष्ठ क्याप्टेन साहलाई नियतवस नलडाएको बताएका थिए । हात मिलाउन खोज्दा अन्जानवस साह लड्न पुगेको दाबी उनले गरे ।
श्रेष्ठले वरिष्ठ क्याप्टेन आफ्नो गुरु भएको र सो घटनामा क्षमा दिन आग्रह गरेका थिए । श्रेष्ठको अनुरोध पछि क्याप्टेन साहले श्रेष्ठबाट भएको उक्त क्रियाकलाप प्रति क्षमा दिँदै भविष्यमा कुनै रिस नराख्ने भनि मेलमिलापको कागजमा दस्तखत गरेका छन् ।
शुक्रबार बिहान लुक्ला उडान गरी रामेछाप विमानस्थलमा अवतरण गरेका क्याप्टेन साहलाई हात मिलाउने क्रममा श्रेष्ठले धकेलेर विमानस्थलको पार्किङमा लडाइदिएको बताइएको थियो । लडेका साह उठेपछि दुवै क्याप्टेनबिच हानाहान भएको थियो । उक्त घटनामा सामान्य घाइते भएका साहले मन्थलीको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए ।
घटनापछि यात्रुसहितको जहाज लिएर लुक्लामा पुगेका क्याप्टेन श्रेष्ठलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यही ग्राउण्डेड गरेको थियो । लुक्लामा पुगेर ग्राउण्डेड भएका क्याप्टेन श्रेष्ठलाई प्रहरीले अर्को जहाजमा यात्रुको रुपमा शुक्रबार नै मन्थली झिकाएको थियो । मन्थलीमा रहेका क्याप्टेन साहलाई पनि ग्राउण्डेड गरेको थियो ।
प्राधिकरणले दुवै क्याप्टेनलाई शुक्रबारदेखि नै उडानमा प्रतिवन्ध लगाएको छ । त्यसै गरी झगडामा संलग्न क्याप्टेनलाई यात्रु हालेर जहाज उडान गर्न अनुमति दिएको भन्दै रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई पनि प्राधिकरणले निलम्बन गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button