अत्याधिक भित्रियो प्लास्टिकका फूलमाला

रामेछाप । नेपाल सरकारले प्लास्टिक जन्य फूल उत्पादन तथा बिक्री वितरणमा गर्न नपाइने भनेर राजपत्रमा समेत सूचना प्रकाशित गरेको छ । सरकारको यो सूचना पछि यो वर्ष फूल उत्पादनमा किसानहरूले धेरै लगानी समेत गरे ।
नेपाल सरकारले गत साउन १२ गते राजपत्रमा उल्लेखित सूचनामा भनिएको छ – प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने र उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा जरिवाना हुनेछ ।
तर रामेछापमा तिहार सुरु नहुँदै प्लास्टिकका फूल माला अत्याधिक भित्रिएका छन् । किसानहरूले फूल बेच्न बजार खोजी रहेको बेला रामेछापको मन्थली बजारमा गत वर्षको तुलनामा अत्याधिक प्लास्टिकका फूलमाला भित्रिएको छ । अन्यत्र जिल्लामा स्थानीय सरकारले प्लास्टिकका फूलमाला बेच्ने व्यवसायीहरूलाई कारबाही गरेको पाइन्छ भने रामेछापका स्थानीय सरकारले यसतर्फ कुनै चासो देखाएको छैन । स्थानीय सरकार सँगै रामेछाप जिल्ला प्रशासन समेत मौन छ ।
धेरै वर्ष देखि फूलखेती गर्दै आएका सुदिप शाही फूल बिक्री नहुने पो हो की भन्ने त्रासमा छन् । उनी भन्छन् – फूलको अर्डर त आई राखेको छ । अहिलेको अर्डर देख्दा सबै फूल बिक्री होला भन्ने लागेको छ । तर बजारमा प्लास्टिकका फूलहरू छ्यापछ्याप्ती आउन थाले पछि व्यवासायिक रूपमा खेती गर्नेहरूको फूल नबिक्ने त्रास बढेको छ ।
जिल्लामा रहेका विभिन्न संस्थाहरूले किसानलाई फूल उत्पादन तथा बिक्री गर्न केही सहयोग गरेपनि स्थानीय सरकारले पूर्ण रूपमा चासो नदेखाएसम्म किसानहरूका समस्या जस्ताको तस्तै रहने सरोकारवालाहरूको भनाइ छ । प्लास्टिकका फूलहरूले सयपत्रीलाई विस्थापित गरेपनि यस वर्ष फूलको स्थानीय उत्पादनले जिल्लाको माग धान्ने सरोकारवालाहरू बताउँछन्।
बजारमा प्लास्टिकका फूलहरू छ्यापछ्याप्ती आउन थाले पछि यस वर्ष फूलको माग घटेको व्यवसायीहरू बताउँछन् ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले भने प्लास्टिक जन्य फूल उत्पादन तथा बिक्री वितरणमा रोक लगाउनु भन्ने परिपत्र मन्त्रालयबाट नआएको बताउँछन् ।उनी भन्छन् – रोक लगाउनु भन्ने परिपत्र पाएको छैनौँ । यसको बारेमा बुझेर भन्छौँ ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा फ्लोरिकचर एसोसिएसनका प्रतिनिधिहरू बिच प्लास्टिकजन्य फूल गुच्छा बिक्री वितरणमा रोक लगाउन कडाइ गर्ने सम्बन्धी छलफल भई सकेको छ ।
छलफलले प्लास्टिकजन्य फूल गुच्छा बिक्री वितरणमा सम्बन्धित सरकारी निकायबाट कडाइका साथ अनुगमन हुने र प्लास्टिकजन्य फूल गुच्छाहरू बिक्री वितरण, भण्डारण र आयात गरेको पाइएमा नियमानुसार कारबाही गर्ने निर्णय समेत गरेको छ।
अवैध रूपमा आयात हुने फूल, माला, तथा माटो सहितको बोट बिरुवाहरू सबै भन्सार नाकाहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सम्बन्धित निकायहरूबाट रोक लगाउने निर्णय भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट एकीकृत बजार अनुगमन गर्ने र कानुन विपरीत बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही गरिने भएको छ।
सबै भन्सार नाकाहरूमा रहेको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन कार्यालयहरूलाई थप प्रभावकारी बनाइने भएको छ। चाडबाडको मौका छोपी बजारमा कृत्रिम अभाव सृजना गरी कालो बजारी गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।
तर रामेछापमा भने निर्बाध रूपमा प्लास्टिकका फूलहरू बिक्री वितरण हुँदै आएको छ ।