संस्थाको ब्यानरमा तिहार अघि नै देउसी भैलो, संस्कृति जोगाउने नाउमा पैसा उठाउने माध्यम

रामेछाप । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मी पूजाको बेलुकाबाट खेलिने देउसी भैलो रामेछापमा भने पाँच दिन अगाडिबाटै सुरु भएको छ । नेपाल मगर महिला संघ रामेछाप नामक संस्थाले तिहार पर्वलाई नै चुनौती दिने गरी तिहार सुरु नहुँदै देउसी भैलो कार्यक्रम सुरु गरेको हो । यो वर्ष शनिवार देखि सुरु हुने यमपञ्चकको तेस्रो दिन सोमबारबाट देउसी भैलो खेलिने भएपनि नेपाल मगर महिला संघ रामेछापले संस्थागत रूपमा ब्यानर नै बनाएर पाँच दिन अघि बिहीबार देखि नै देउसी भैलो कार्यक्रम राखेर पैसा उठाउन थालेको छ ।
मगर महिला संघ रामेछापले शुक्रवार मन्थलीमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा भेटिएका ६० वर्ष माथि उमेर भएका एक ज्येष्ठ नागरिकले संस्कृतिको नाममा विकृति भित्रिएको भन्दै भने– ‘पहिले–पहिले तिहारको तेस्रो दिन अर्थात् गाई तिहारको दिनबाट गाउँ सहरमा देउसी भैलो खेल्ने गरिए पनि अचेल एक साता पहिलेदेखि नै खेल्न थालिएको छ । यसले संस्कृतिको नाममा विकृति भित्रिएको छ । हाम्रो पालामा मौलिक संस्कृतिको संरक्षण गर्दै पर्व मनाउने गर्थ्यौँ । अहिले यस्तै कार्यले गर्दा हाम्रा नेपाली पर्वहरूको मौलिकता गुम्दै गएको छ । त्यति मात्रै हैन, अहिलेको देउसी भैलो संस्कृति जोगाउने नाउँमा पैसा उठाउने एउटा माध्यम बनेको छ । यस्ता कार्यको अन्त्य हुनु पर्छ ।’
त्यस्तै अर्का एक व्यक्तिले पनि आफ्नो नाम नबताउने सर्तमा पैसा उठाउने उद्देश्यले तिहार नै सुरु नभई सुरु गरिएको देउसी भैलोको विषयमा कुरा गर्दै भने– ‘यो तरिका नै भएन, तिहार भएकै छैन, यति छिटै भैलो खेल्न सुरु गर्नु गलत हो, हरेक चाडबाडको आ–आफ्नो महत्त्व र संस्कृति हुन्छ, देउसी भैलो जति बेला मन लाग्यो उति बेला खेल्ने खेल होइन । यो विकृति हो, यसलाई सरोकारवाला निकायले रोक्नु पर्छ, यही हिसाबले गर्दै जाने हो भने अब आउने पुस्ताले के सिक्छन् ?’
यो विषयमा जानकारी लिन संघकी अध्यक्ष तारा मगरलाई सम्पर्क गर्न खोज्दा सम्बन्धित व्यक्तिको फोन अरुकसैले उठाए । उहाँलाई तिहार सुरु नहुँदै किन देउसी भैलो कार्यक्रम सुरु गर्नु भयो भन्ने प्रश्न गर्न फोन गरेको हो भन्दा फोन उठाउने व्यक्तिले भने – ’उहाँ अहिले व्यस्त हुनुहुन्छ । उहाँ फुर्सद भए पछि वा भोली कुरा गर्नुहोला ।’
यही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको फोन उठेन ।
तिहार पर्वको संस्कृति अनुसार यो वर्ष कार्तिक २७ गते गाई तिहारको दिनबाट देउसी भैलो खेल्न सुरु गरिने भएपनि नेपाल महिला मगर संघ रामेछापले २३ गते देखि नै देउसी भैलो कार्यक्रम सुरु गरी सकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button