खाँडादेवीमा युवालाई मोटरसाइकल मर्मत तालिम

मङ्सिर १७, रामेछाप । खाँडादेवी गाउँपालिकामा सीटीईभीटी अन्तर्गत तह १ को ७२ दिने मोटरसाइकल मर्मत तालीम खाँडादेवी गाउँपालिका ७ टिमुमा सम्पन्न भएको छ । सामुदायिक विकास समाज मन्थली रामेछापको आयोजना, क्यान र बीएमजेडको आर्थिक सहयोग स्किल नेपालको प्राविधिक सहजीकरण एवं खाँडादेवी गाउँपालिकाको सहकार्यमा मोटरसाइकल मर्मत तालीम गरिएको हो ।
कार्यक्रम वडा सदस्य कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यमा तथा सामुदायिक विकास समाजको युवा उद्यमशीलता प्रवर्द्धन परियोजना संयोजक कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा स्किल नेपालको फिल्ड संयोजक डम्बर थापा, सामुदायिक विकास समाजका फिल्ड संयोजक सुकराम घिसिङ, सामाजिक परिचालक रोहित मोक्तान, उद्यम विकास सहजकर्ता सम्झना बस्नेत, सहायक प्रशिक्षक अर्जुन बिक लगायतको सहभागिता रहेको थियो ।
सो तालिममा नौ जना युवाहरूले अन्तिमसम्म सहभागिता जनाएका थिए । केही सहभागीले भने बिचमा नै तालिम छाडेका थिए । तालिममा खाँडादेवी र सुनापति गाउँपालिकाका युवाहरूको सहभागिता रहेको थियो ।
पूरा समय तालिम लिएका युवालाई परियोजनाको तर्फबाट व्यवसायीक योजना अनुसारको व्यवसाय सञ्चालनको लागि आवश्यक औजार सामाग्री सहयोग गरिने फिल्ड संयोजक सुकराम घिसिङले बताए ।



