कृषि एम्बुलेन्स सञ्चालन गर्न सुझाव संकलन

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ । शुक्रवार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरूसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धी सुझाव संकलन गरिएको हो ।
कृषि उपज उत्पादन, बजारीकरण, ढुवानी, कृषि अनुदान, कृषि सामाग्री वितरण लगायतसँग सम्बन्धित जिज्ञासा तथा गुनासोहरू कृषक तथा सरोकारवालाहरूले राखेका थिए ।
सरोकारवालाहरूबाट आएको सुझाव अनुसार नै कृषि एम्बुलेन्स संचालन हुने रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समीर कार्कीले बताए । त्यसका लागी विभिन्न समिति तथा उपसमितिहरू गठन भैसकेको उनको भनाई छ ।
किसान लक्षित कृषि एम्बुलेन्स खरिद भैसकेको रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले बताइन । उनले भनिन- अब चाँडै कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म पुर्याइने छ ।
नगरपालिकाको वडा नं १ देखी ९ सम्मका किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद गरिएको हो । रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलका अनुसार नगरपालिकाका किसानले जुनार,काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली,खुर्सानी, अदुवा, साग,आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ,गेडागुडी लगायतका तरकारी उत्पादन गर्ने गरेका छन् ।
कृषि एम्बुलेन्स सञ्चालन भएपछि गाउँमा उत्पादन भएका फलफूल र तरकारी लगायत उत्पादित कृषि जन्य वस्तु किसानको घर–घरबाट रामेछाप बजारको बिहीबारे हाट, मन्थली बजार लगायत अन्य बजारमा पुर्याइने छ ।
किसानले निकै कष्टका साथ आफ्नो कृषिजन्य उत्पादन बजार पु¥याउनुपर्ने बाध्यता छ । कृषि एम्बुलेन्सको प्रयोगबाट किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाले विश्वास लिएको छ ।