काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापतिको निधन
रामेछाप । नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको मंगलबार राती काठमाण्डौमा हृदयाघातबाट निधन भएको हो ।
श्रेष्ठ आफैले संचालन गर्दै आएको होटेलमा उनलाई मंगलबार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले बताए ।
राजनारायण श्रेष्ठको अन्तिम दाहसंस्कार १२ गते बिहीबार (आज) पशुपतिमा गरिने प्रदेश सभापति श्रेष्ठले बताए ।
पारिवारिक श्रोतका अनुसार बिहान ७ः३० बजे किस्ट मेडिकल कलेज ग्वार्को ललितपुर बाट शब यात्रा सुरु गरिनेछ । त्यहाँबाट नरेफाट निवासमा ८ बजे आइपुग्ने छ ९ बजे पशुपति आर्यघाट मा आइपुग्ने छ । ९ बजेदेखि आर्यघाटमा केही समय श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिने छ ।
नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए । नेपाली काँग्रेस रामेछापको १४औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै खाँडादेवी गाउँपालिका वडा नं ५ मा पनि वडाध्यक्षमा चुनाव लडेका थिए । तर उनी निर्वाचित हुन सकेनन् ।
२०५६÷५७ साल देखि नै होटेल व्यवसायमा लागेका श्रेष्ठ फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए । श्रेष्ठको परिवारमा श्रीमती, ४ छोरी र एक छोरा छन् ।