अनुदानमा मकैको बिउ

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको हो ।
किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार– रामपुर कम्पोजिट, मनकामना ३, गणेश ३ र अरुण २ जातका मकैको बिउ गाउँपालिकाका ७ वटै वडाहरूमा वितरण गर्न लागेको हो । अधिकारीले भने – यसपालि किसानहरूले ५ हजार केजी मकैको बिउ माग गर्नु भएको छ, त्यही माग भए अनुसारको बिउ हामीले बाँडेका हौँ ।
उत्पादनमा वृद्धि गरी मकै बालीमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको मकैको बिउ वितरण गरिएको गाउँपालिका अध्यक्ष केशव महतले बताए । उनले भने– पुरानो बालिलाई विस्थापित गरेर आधुनिक खेती प्रणालीलाई प्रवर्द्धन गर्ने हाम्रो योजना छ । उत्पादन बढाउन सके किसानको आय वृद्धि हुन्छ । किसानको आय वृद्धि भए मात्रै पालिका समृद्ध हुन्छ । हामी अहिले उत्पादन बढाउने योजनामा छौँ ।