१ लाख ३६ हजार भेडा बाख्रालाई लगाइयो पिपिआर खोप

रामेछाप । जिल्लामा एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुली ले बताएको छ । जिल्लाका किसानले पालेका एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर अर्थात् भेडा बाख्राको हैजा विरुद्धको खोप लगाइएको हो ।
जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ गतेदेखि २२ गतेसम्म साताव्यापी खोप अभियान सञ्चालन गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुलीका सूचना अधिकारी नवराज थापाले बताए।
उनका अनुसार मन्थली र रामेछाप नगरपालिकामा २५÷२५ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । खाँडादेवी गाउँपालिकामा १४ हजार, लिखुतामाकोशी गाउँपालिकामा १५ हजार, उमाकुण्ड गाउँपालिकामा १५ हजार, सुनापति गाउँपालिकामा १५ हजार, दोरम्बा शैलुङ गाउँपालिकामा १२ हजार र गोकुलगंगा गाउँपालिकामा १५ हजार भेडा बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।
पिपिआर भेडा बाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएता पनि नयाँ ठाउँमा फैलिदा धेरै क्षति हुन्छ । त्यसैले भेडा बाख्रामा पिपिआर खोप लगाउन आवश्यक छ । यो रोगको खास उपचार नभएको हुँदा सबै भन्दा प्रभावकारी भनेकै सामूहिक खोप लगाएर रोग नियन्त्रण गर्नु हो ।– सूचना अधिकारी थापाले भने ।



