राप्रपाको राँके जुलुस मन्थलीमा
रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले शनिवार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । राप्रपाले रामेछापको सदरमुकाम मन्थलीमा वर्तमान सरकारको राजीनामाको माग गर्दै उक्त जुलुस प्रदर्शन गरेको थियो ।
देश भरका ७७ वटै जिल्लामा भातृ संगठनहरुको सहभागितामा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा पनि यो कार्यक्रम गरिएको राप्रपा रामेछापका सचिव दीपक कार्कीले बताए ।
मन्थली स्थित राप्रपाको पार्टी कार्यालयबाट निस्किएको जुलुसले मन्थलीका बजारका विभिन्न भागहरू परिक्रमा गरी देवकोटा चोकमा आएर कोणसभा गरेको थियो । कोण सभामा बोल्दै राप्रपा रामेछापका उपाध्यक्ष शिवजी घिमिरेले वर्तमान सरकारमा सुन काण्ड र सहकारी ठगी काण्डमा मुछिएकाहरू रहेकोले यो सरकारले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको आरोप लगाए।
उनले वर्तमान सरकारको राजीनामा माग गर्दै यही चैत्र २७ गते आफ्नो पार्टीको राजधानी केन्द्रित आन्दोलन रहेकाले सबैलाई सहभागी हुन पनि आग्रह गरे ।