अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह, निजी फर्म र कम्पनीलाई परियोजनाले बोयर जातका पाठापाठी वितरण गरेको हो।
उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । परियोजनाले बोयर पाठापानी परकेजी १ हजार ९५ रुपैयाँमा खरिद गरी ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको हो ।
परियोजनाले जोन तथा सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषि सहकारी, कृषक समूह, फर्म तथा कम्पनीलाई कृषियन्त्र पनि वितरण गरेको छ । जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामिछानेले किसानलाई बोयर जातका पाठापाठी तथा कृषियन्त्र वितरण गरे ।
जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत ३३ वटा कम्बाइन मिल, २० वटा डिस्क मिल र ८ वटा च्यापकटर वितरण गरिएको परियोजना प्रमुख गैरेले बताए । कम्बाइन मिल परगोटा ३६ हजार ५ सय, डिस्क मिल २४ हजार ५ सय र च्यापकटर प्रतिगोटा ३३ हजार ५ सयमा खरिद गरी खरिद मूल्यको ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको हो ।
कृषकहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले बोयर जातको पाठापाठी वितरण गरेको जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले बताए । किसान आर्थिक रुपले सम्पन्न भए मात्र देशमा समृद्धि आउने भन्दै अनुदानमा पाएको पाठापाठी मार्फत बाख्रा पालन व्यवसायलाई प्रवर्धन गरी आयआर्जन बढाउन अनुरोध गरे ।
कृषकहरूको लागि सरकारले सहुलियतपूर्ण कार्यक्रमहरू ल्याएकाले त्यसबाट भरिपूर्ण लाभ लिन रामेछापका जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामिछानेले कृषकहरूलाई अनुरोध गरे ।
बाख्रा जोन कार्यक्रमले कृषकहरूको क्षमता वृद्धि भएको र बाख्रा जोन कार्यक्रम सञ्चालन भएपछि कृशहरूको आर्थिक आय वृद्धि भएको परियोजना प्रमुख गैरे बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले वर्षेनी उन्नत जातको बाख्राका पाठापाठी वितरण गर्दै आएको छ ।