अझै नयाँ वर्षको बिदामा सङ्घीय खानेपानीका कर्मचारी

रामेछाप । रामेछाप जिल्लाको सङ्घीय खानेपानी तथा ढल व्यवस्थान आयोजना कार्यालयका कर्मचारीहरु नयाँ वर्ष मनाएर अझै कार्यालय फर्किएका छैनन् । नयाँ वर्ष मनाउन घर गएका कर्मचारीहरु वैशाख ४ गतेसम्म पनि कार्यालय नआएका हुन् । कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन आएका सेवाग्राहीहरु उसै फर्कन बाध्य हुने गरेका छन् ।
कार्यालय प्रमुख हेराकाजी महर्जन, कार्यालयका सूचना अधिकारी समेत रहेका इन्जिनियर दिपक महर्जन, लेखापाल शङ्कर राउत लगायत कार्यालयमा नियमित बस्ने कर्मचारीहरु वैशाख १ गतेदेखि कोहीपनि कार्यालय आएका छैनन् । वैशाख ४ गते (हिजो) सङ्घीय खानेपानी तथा ढल व्यस्थापन आयोजना कार्यालयमा पुग्दा कार्यालय प्रमुख हेराकाजी महर्जन, सूचना अधिकारी समेत रहेका इन्जिनियर दिपक महर्जन लगायतका कर्मचारीहरुको कुर्सी खाली थियो । आर्थिक प्रशासन शाखाको ढोकामा भने ताल्चा झुण्डिएको थियो ।
आयोजना कार्यालयमा रहेका १६ जना कर्मचारीहरु मध्ये ५ जना स्थायी कर्मचारी छन् । वैशाख १ गतेदेखि स्थायी कर्मचारीहरु कोहीपनि कार्यालय नआएको एक कर्मचारीले बताए । मङ्गलवार आयोजना कार्यालयमा करार सम्झौता सकिएर करार सम्झौता नवीकरण नगरिएका एक जना कार्यालय सहयोगी र २ जना कर्मचारी थिए । उनीहरु तीनै जनाको करार सम्झौता सकिएर सम्झौता नवीकरण भएको छैन । कानुनतः करार म्याद सकिएपछि म्याद थप नभएसम्म उनीहरु आधिकारिक कर्मचारी हुँदैनन् । करार सम्झौता अवधि सकिएका कर्मचारीको म्याद थप नगरी काम लगाउन पाइदैन । जागिर सकिएका कर्मचारीलाई कार्यालयको जिम्मेवारी दिनु भनेको कार्यालयसँग असम्बन्धित मानिसलाई कार्यालयको जिम्मेवारी दिनु सरह नै हो । सरकारी कार्यालयको यो अवस्था गैरजिम्मेवारी मात्र होइन, चरम लापरबाही हो ।
करार सम्झौता सकिएका कर्मचारीलाई सम्झौता नवीकरण नगरी काम लगाउन नपाइने भएपनि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले गैरकर्मचारीलाई कार्यालयको ताला चाबी दिएर स्थायी कर्मचारी सबै बिदामा बस्नु, त्यो भन्दा लापरबाही अरु के हुन सक्छ ? अझ गजबको कुरा त के भने नयाँ वर्ष सुरु भएपनि कर्मचारीका हाजीरी पुस्तिका समेत खडा गरिएको छैन । स्थायी कर्मचारी नयाँ वर्ष मनाएर कार्यालय फर्किएका छैनन्, करार म्याद सकिएका कर्मचारीलाई हाजिर गराउने कुरा भएन, त्यही भएर पनि कर्मचारीको हाजीरी पुस्तिका खडा नगरिएको हुनसक्छ । हाजिरविना नै काम गर्न लगाइएको छ । कार्यालयका विभिन्न फाँटका कर्मचारीहरुको कुर्सी खाली भएपनि फ्यान र बत्ती भने बलिरहेको थियो । कर्मचारी नभएको कार्यकक्षमा मात्र होइन शौचालयमा समेत बत्ती बलिरहेको थियो ।
यस कार्यालयमा आउँदा कहिल्यै पनि कर्मचारी भेटिदैन एक सेवाग्राहीले भने । कार्यालय पुगेका ती सेवाग्राहीले भने– यो कार्यालयमा आउँदा योभन्दा पहिला पनि धेरै पटक कर्मचारी नभेटिएर म फर्किएको छु ।
कर्यालय भेटिएका व्यक्तिहरुले भने उक्त कार्यालय अन्तर्गत ३ वटा जिल्लाहरु कार्यक्षेत्र पर्ने भएकाले अन्य जिल्लामा फिल्डमा गएको भनि बचाउ गरे । कार्यालय प्रमुख हेराकाजी महर्जन भने तालिमको लागि इन्डिया गएको उनीहरुको भनाइ छ ।
सूचना अधिकारी तथा इन्जिनियर (नि. कार्यालय प्रमुख) दिपक महर्जनले आफूहरुबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भने– हामीबाट गल्ती भइहाल्यो अब के गर्ने यस्तै भयो । उनले आफू कार्यालयकै कामको सिलसिलामा बाहिर रहेको बताउँदै, कार्यालय आएपछि करार म्याद सम्झौता नवीकरण गरिने बताए । अहिलेसम्म कर्मचारीको हाजिरपुस्तिका नै खडा गरिएको छैन, कर्मचारी अहिलेसम्मको हाजिर गराउनु हुन्छ कि के गर्नुहुन्छ भन्ने प्रश्नमा इन्जिनियर महर्जनले भने म आएपछि हाजीर पुस्तिका खडा गर्छु । उनले भने हाजिर मिलाएर गर्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button