छैन व्यवस्थित वधशाला, अस्वस्थ कर मासु खान बाध्य उपभोक्ता, ब्यवसायीहरुलाई सबै कुरा हामी दिन सक्दैनौँ– मन्थली नगरपालिका

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा पशु वध गर्ने व्यवस्थित वधशाला नहुँदा उपभोक्ताहरू अस्वस्थ कर मासु उपभोग गर्न बाध्य छन् ।
मन्थलीमा झन्डै २० वटाको हाराहारीमा मासु पसलहरू छन् । बिषेशगरी राँगा, सुगुंर, बङ्गुरहरूको वध गर्ने ठाउँ व्यवस्थित नहुँदा पसलहरूमा अस्वस्थ कर मासु बिक्री हुने गरेका छन् ।
तामाकोसी नदी किनारमा पशु वध गर्ने गरिएको छ । त्यहाँ वध गर्दा मासुमा बालुवा टाँसिएर खान योग्य नहुने,वध गर्न साथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ ।
त्यति मात्र हैन नजिकै रहेको मन्थली विमानस्थलमा विमानहरू प्रस्थान र अवतरण गर्दा काग तथा गिद्धहरू घुम्ने भएकाले विमान सेवा नै प्रभावित हुन सक्ने अवस्था छ ।
नदी किनारमा पशु चौपाया वध गर्दा पानी दूषित बनेको छ भने पशु वध पछि उत्सर्जन हुने फोहोर जथाभाबी फाल्नाले कोशी किनार क्षेत्र दुर्गन्धित हुने गरेको छ ।
व्यवस्थित वध गर्ने ठाउँ मन्थली नगरपालिकाले नबनाइदिएका कारण कोशी किनारमै वध गरेर भएपनि जिल्लामा मासुको मागलाई केही हद सम्म पुरा गर्ने प्रयास गरेको मासु व्यवसायी पशुपति साही बताउँछन् । गत वर्ष नगरले ३ लाख छुट्टाएको थियो त्यो पैसा फ्रिज भयो हामीलाई ठाउँ खोज भन्छ नगरपालिकाले । कहाँ खोज्नु ? उहाँहरूले नै खोजेर बनाइदिए भई गो नि । साहीले भने ।
तत्कालीन पशु सेवा केन्द्र र मन्थली नगरपालिका मिलेर मन्थलीको वडा नं १ स्थित हाटेचउर नजिकै एक दशक अगाडि वधशाला बनाइएको भएपनि यो प्रभवकारी एवं सुविधा सम्पन्न छैन । नत यहाँ पशु वध गरेपछि धोइ पखाली गर्न पानी छ न त वध पछि निस्कने फोहोर विसर्जन गर्ने व्यवस्थित ठाउँ नै छ । यसैले पनि यस ठाउँमा बनेको वधशाला प्रयोगमा आउन सकेको छैन । मासु व्यवसायीले यस ठाउँलाई पशु सङ्कलन केन्द्र एवं गोठको रूपमा प्रयोग गरिरहेका छन् ।
व्यवस्थित वधशाला नहुँदा राम्रो सरसफाइ गरेर, फ्रिजमा राखी मासु बिक्री वितरण गर्न नसकेको मासु व्यवसायी हजार सि तामाङ बताउँछन् । उनी भन्छन् –“पशु वध गर्ने ठाउँमा न त पानीको सुविधा छ न त फोहोर विसर्जन गर्नै ठाउँ नै छ त्यसैले हामीले त भुइतिरै वध गरेर मासु बेच्ने गरेका छौँ ।”
व्यवस्थित ढङ्गले पशु वध गरिसकेपछि त्यसलाई सफा गरेर फ्रिजमा वा चिसो ठाउँमा राख्नु पर्ने हुन्छ । तर यहाँका मासु ब्यवसायीहरले जथाभाबी वध गरी हाट बजारमा ल्याएर खुल्ला स्थानमा मासु विक्री गर्ने गरेका कारण पनि यहाँका उपभोक्ताहरूले अस्वस्थ कर मासु खान बाध्य हुनुपरेको हो ।
मन्थली नगरले व्यवस्थित वधशाला बनाइदिनुपर्ने र यस अघि बनाइदिए भनिएको वधशालाको उपयोग भए नभएको अनुगमन गर्नुपर्ने स्थानीय उपभोक्ता वीरेन्द्र श्रेष्ठ बताउँछन् ।
व्यवस्थित वधशाला निर्माण गरी सबै उपभोक्ताहरूले स्वच्छ मासु खान पाउने व्यवस्था सम्बन्धित निकायले गर्नुपर्ने स्थानीय उपभोक्ता राम बहादुर माझी बताउँछन् ।
पशु वधशाला यस अघि नै बनाइदिएको तर त्यसको सही सदुपयोग नभएको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउँछन् । उनले भने– मासु पसलेहरूसँगको लागत साझेदारीमा उपर्युक्त स्थान छनौट गर्न सकेमा आगामी आर्थिक वर्षमा व्यवस्थित वधशाला निर्माण गर्न सकिन्छ । मासु ब्यवसायीहरुलाई सबै कुरा हामीले कहाँ दिन सक्छौँ त ?