पाखा पखेरामा ड्रागन फुडको खेती

रामेछाप । काठमाडौँमा नर्सरी फार्ममा काम गरिरहेका रामबहादुर साहीले दाङमा लोकेन्द्र विष्ट मगरले ड्रागन फुडको खेती गरेको थाहा पाए । दाङ र रामेछापको हावापानी उस्तै उस्तै हो भन्ने बारे बुझे उनले । सिउँडी जस्तै जस्तै जातको ड्रागन फुड हुने भएकोले रामेछापमा पनि ड्रागन फुड खेती हुन्छ भने सोचे साहीले ।
गाउँमा आफ्नो बारी बाँझो भएको सम्झिए उनले । काठमाडौँमा बिरुवासँग खेलिरहेका साहीलाई आफ्नै गाउँमा कृषि व्यवसाय गर्ने हुटहुटी जाग्यो । विक्रमसंवत २०३९ सालदेखि २०४५ साल सम्म जापनिजसँगै कृषि क्षेत्रमा काम गरेका अनुभव भएका साहीले २०५३ सालमा काठमाडौँमा संजय नर्सरी फार्म नामक आफ्नै नर्सरी व्यवसाय सुरु गरेका थिए । भन्छन् नि विदेश हुँदा देशको माया लाग्छ, देशमा हुँदा जिल्लाको । यही जिल्लाको मायाले गर्दा आफ्नै पाखा पखेरामा मोती फलाउने लक्षले ड्रागन फुड खेती सुरु गरे साहीले ।
साहीले जस्तै रामेछाप जिल्लामा अरूले पनि ड्रागन फुड खेती सुरु गरेका छन् । पछिल्लो समय किसानहरूमा ड्रागन फुडको खेतीमा आकर्षण बढेको देखिन्छ । रामेछापमा केही वर्ष अघि छिटफुट सुरु भएको ड्रागन फुडको खेती पछिल्लो समय व्यवसायीक रूपमा नै सुरु हुन थालेको छ ।
साहीले झन्डै तीन रोपनी जग्गामा व्यवसायीक ड्रागन फुडको खेती सुरु गरेका छन् । मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा उनले ड्रागन फुड खेती सुरु गरेका हुन् । भदौरे कालिका कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर साहीले ड्रागन फुडको खेती सुरु गरेका हुन् ।
जिल्लामा फलफूलका बिरुवाको आयात बढीरहेको बेला शाहीले आयात रोक्ने र निर्यातमा वृद्धि गर्ने उद्देश्यले ड्रागन फुडको बिरुवा समेत उत्पादन गरिरहेको बताए । आफूले उत्पादन गरेको बिरुवा १ सयका दरले किसानलाई दिने पनि शाहीले बताए।
एक घर – एक ड्रागन फुड खेती भन्ने उद्देश्यले शाहीले चाँडै नै मन्थली नगरपालिका वडा नं ५ का ५ सय घरधुरीलाई एउटा बिरुवा ड्रागन फुड निःशुल्क वितरण गर्ने बताए । साहीले ड्रागन फुड खेतीबाट मात्रै वार्षिक १५ लाख आम्दानी हुने अनुमान गरेका छन् ।
यतिबेला साहीले सुरु गरेको ड्रागन फुड खेती हेर्न लायक छ । सुनरपानीको सुकेको पाखामा साहीले गरेको दुखको फलले उनलाई कृषि पेसामा झनै मोहित बनाएको बताउँछन् उनी । साहीले २ सय वटा पोलमा ८ सय वटा ड्रागन फुडका बिरुवा लगाएर खेती सुरु गरेका थिए ।



