गाउँपालिकामा नै माटो परीक्षण

रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास शाखा प्रमुख लोक फुयाँलले बताए। उनले भने– यो वर्ष हामी माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्दैछौ। अब माटो परीक्षण गर्न लिखु तामाकोशीका नागरिकले अन्यत्र जानू पर्दैन ।
फुयाँलका अनुसार पालिकाले माटो परीक्षण यन्त्र खरिद सँगै माटो परीक्षण गर्ने तालिम पनि दिने भएको छ। पालिकाले माटोको नमुना सङ्कलन देखि माटो परीक्षण सम्मको सीप किसानहरूलाई दिनेछ । पालिकाले वडा वडाबाट अगुवा कृषक छनौट गरी माटोको नमुना सङ्कलन र माटो परीक्षण तालिम दिनेछ ।
‘माटोमा विभिन्न तत्त्व त हुन्छ। तर, किसानले लगाएका बालीका लागि आवश्यक छ कि छैन। कुन तत्त्वको कमी छ त्यही तत्व बारीमा थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘ माटो परीक्षणको सेवा सुचारु भए पश्चात् रिपोर्टअनुसार किसानलाई सुझाव दिएर माटोको अवस्थाअनुसार माटोलाई चाहिने तत्त्वहरू हाल्न सिफारिस गर्नेछौँ। प्रत्येक तीन वर्षमा माटोको परीक्षण गरी किसानले खेती गरे उत्पादन वृद्धि हुनेछ।’
माटो बोकेर प्रयोगशालासम्म किसान पुग्न नसक्ने भएकाले किसानको सहजताका लागि पालिकामा नै माटो परीक्षणको सुविधा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए । उनले भने, ‘कस्तो माटोमा के खेती गर्ने र माटोको अवस्था हेरेर उपचार गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ। उत्पादनमुखी कृषिमा बढवा दिई उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउनका लागी माटो परीक्षणको सेवा सुरु गर्न लागेका छौँ ।’
पालिकाको भूगोल हावापानी सँगै माटो सुहाउँदो अन्नबाली उत्पादनका लागि माटो परीक्षण जरुरी भएकोले पालिकाले माटो परीक्षण यन्त्र खरिद गर्न लागेको पालिका अध्यक्ष केशव महतले बताए। उनले भने– माटो सुहाउँदो खेती गर्न सके किसानको उत्पादनमा वृद्धि हुनेछ। किसानको उत्पादन बढ्नु भनेको किसानको आयाअर्जन बढ्नु हो। किसानको आयआर्जन बढ्नु भनेको पालिका संवृद्धिको बाटोमा लम्कनु हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button