मकैमा फौजी किराको आतङ्क, किरा टिपेर बित्छ सुनिताको दिन

रामेछाप । रामेछाप नगरपालिका–७ बस्ने सुनिता तामाङ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित छिन् । सुनिताको दिन आजभोलि दिउँसोको समयमा मकै बारीमा फैलिएको किरा टिपेर बित्ने गरेको छ । दिउँसो मकैको गुभा भित्र लुकेर बसेको किरा खोजेर नष्ट गर्ने गरेको उनी बताउँछिन् । यो किराले दिउँसो भन्दा रातको समयमा मकैको बोटलाई क्षति गर्ने गरेको उनको भनाई छ ।
हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने मन्थली नगरपालिका ५ का सुकदेव कार्कीको गुनासो छ । कृषक कार्की भन्छन्, ‘मकैका बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ । किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गरेको छ । समयमै वर्षा नभएर ढिलो गरी उम्रेको मकैको बिरुवा किराबाट जोगाउन नै मुस्किल भयो’ ।
हिलेपानीकी किसान सुशीला खत्रीले मकै छरेदेखी नभाँचेसम्म चिन्तै चिन्ताले पिरोलिने गरेको बताइन् । सुशीला भन्छिन् – हुर्कँदै गरेको रहर लाग्दो मकैको बोटहरूको पात, गुभा र डाँठ किराले खाएर नष्ट गरेको छ। मकैको घोगा लाग्न थालेपछि पनि जङ्गली जनावरले अति नै दुख दिने गरेको छ । हामी किसानलाई बालीनाली जोगाउनै गाह्रो भयो । खेतबारी बाँझै राखेर पनि भएन । अब कसरी जिन्दगी चलाउने होला भन्ने पिरलो छ ।
जोत्ने बेला भएको लहलहाउँदो मकैमा किराको प्रकोप देखिएको रामेछाप नगरपालिका ७ का किसान गोपाल महतारा पनि चिन्तित छन् । गत वर्षहरूमा पनि दुःख दिएको फौजी किराले यस वर्षपनि छोडेन । हाम्रो तिरको प्रमुख बाली मकैको बोटको गुभा नै किराले खाएको छ । अब भने हामी के खाने होला भन्ने चिन्तामा छौँ ।’ उनले दुख सुनाए ।
धेरै किसानले फौजी किरा नियन्त्रण गर्न विषादी किनेर छिटेको बताए । गत वर्षहरूमा वडा तथा रामेछाप नगरपालिकाले निःशुल्क विषादी वितरण गर्दा किरा नियन्त्रणमा सहयोग पुगेको भएपनि यस वर्ष आफैले विषादी खरिद गर्दा निकै महँगो पर्न गएको रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरका किसान गंगा बस्नेत बताउँछिन् । विषादी छर्कँदा समेत पूर्ण रूपमा किरा नष्ट नभएको उनको भनाई छ ।
रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले यस वर्ष नगरपालिकाले फौजी किरा नियन्त्रणका लागी विषादी वितरण नगर्ने बताए । गत वर्षहरूमा नगरपालिकाले निःशुल्क विषादी वितरण गरेको भएपनि यस वर्ष बजेट नछुट्टाइएको कारण विषादी वितरण गर्न नसकिएको उनको भनाई छ । नगरपालिकाका केही वडाहरूले विषादी वितरणका लागी बजेट विनियोजन गरेको र वितरणको कार्य समेत भइरहेको उनले बताए ।
फौजी किराको प्रकोपले सताएर कार्यालयमा आउने किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउने बताउँछन् कृषि विकास कार्यालय रामेछापका कार्यालय प्रमुख मीन बहादुर पुन । यस्ता बालीनालीमा लाग्ने महामारीका लागी किसान पनि सुरुमै सचेत भई दिए सहज हुने उनले बताए । उनले भने – हाम्रो कार्यालयमा यस्तो किसिमको कुनै गुनासो भने आएको छैन ।
अघिल्लो वर्षजस्तै मकैखेतीमा फौजी किराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोट सखाप भएको किसानले बताएका छन् । यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ । किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।
साधरणतया मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरूले आक्रमण गर्दछन् । यस किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति गर्दछ । गुभोमा काठको धुलोजस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । ती लार्भा धेरै खन्चुवा हुन्छ ।
मकै लगाएको आठदेखि १० दिनमै यसले क्षति गर्ने भएकाले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने कृषि प्राविधिकहरू बताउँछन् । बालीमा रोग लाग्न नदिनका लागि माटोमा पहिले नै विषादी छर्नुपर्दछ । खेतबारीमा पानी जमेमा किरा नलाग्ने प्राविधिकको भनाइ छ । यदि मकैमा किराले आक्रमण गरे त्यसको नियन्त्रणका लागि ‘इमामेक्टिन बेन्जोएट’ शून्य दशमलव ५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ ।
जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा २ हप्तादेखि फौजी किराले क्षति पु¥याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबाली नै सखाप हुने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ । जिल्लाका धेरै जसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ । हरियो रहर लाग्दो मकैको बोट रातारात किराले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।