हेफरको कारणले रित्तियो किसानको खोर

रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ ।
मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज कल्याण केन्द्र मन्थली रामेछापको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी कार्यक्रमले अनुदानका नाममा रोगी बोका वितरण गर्दा लक्ष्मी केसीको खोरमा रहेको सबै बाख्रा र बोका मरेको हो ।
हेफर प्रोजेक्टको जिम्मा पाएको पहाडी समाज कल्याण केन्द्रले गत वैशाखमा नागदेवी स्वावलम्बन महिला समूहलाई बिउ बोका अनुदानमा दिएको थियो । उक्त बोका पूर्णबहादुर माझीको घरमा राखी पालिएको पीडित लक्ष्मी केसीले जानकारी दिइन् । केसीका अनुसार उनका खोरको ६ वटा बोका र १ पाठी मरेका हुन् । केसीको सँगै माझीको पनि ३ वटा बोकापाठी मरेका छन् ।
अनुदानका नाममा रोगी बोका दिँदा आफ्नो खोर नै रित्तिएको लक्ष्मी केसीले गुनासो पोखिन् । हेफरले बोका दिए पछि उन्नत जातको बाख्रा उत्पादन गरी समृद्धिको सपना देखेकी केसीको सपनालाई हेफरको लापरबाहीले तुहाइदियो ।
साना किसानलाई समृद्ध बनाउँछु भनेर काम गर्ने भन्दै आएको हेफरको यो लापरबाही हेर्दा हेफर प्रोजेक्ट किसानको पक्षमा कहिल्यै देखिएन । कहिले कृषकको बजेटमा वडा अध्यक्षलाई इलाम पु¥याउने, कहिले पशु शिविरको नाममा माचको भैँसी र खोरका कुखुरा शिविर भएको ठाउँमा ल्याउनु भनेर किसानलाई दुख दिने हेफरको चरित्रले हेफर प्रोजेक्ट किसानको पक्षमा देखिँदै देखिँदैन । हेफरको पहिलेको बदमासीका बारेमा मन्थली नगरपालिकाका प्रशासकीय हरि चापागाईँ अनविज्ञ भएको ढोङ रचिरहन्छन् । उनको जबाफदेहिता हेर्दा किसानलाई दुख दिने किसानको खोर रित्याउने खेलमा उनको पनि मिलेमतो छैन भन्न सकिँदैन ।
बिरामी बोका दिएको कुरा हेफरले राखेको मन्थली ८ कि भेटनरी प्राविधिक सम्झना श्रेष्ठ समेत स्विकार्छन् । श्रेष्ठले भनिन् – हामीले दिने बेलामा बोका बिरामी थियो । बोकालाई रुघाखोकी लागेको थियो । त्यो बोकालाई छुट्टै राख्नुपर्ने थियो । किसानले अरू बाख्रा सँगै राख्नु भएछ । जसका कारण उहाँहरूको खोर नै रित्तो बन्न पुग्यो ।
हेफर प्रोजेक्ट सहजीकरणको जिम्मा लिएको संस्था पहाडी समाजका अध्यक्ष रत्न कँडेल यसलाई सामान्य मान्छन् । उनी आफू र आफ्नो प्रोजेक्टले गरेको गल्ती स्विकार्न तयार नै छैनन् । अझै उनी किसानलाई दोषी देखाउँछन् । उनी भन्छन् – किसानको खोर रित्तो हुनुको कारण स्वयम् किसान हुन्, हामी होइनौँ ।
अध्यक्ष कँडेलको यो जवाफ सुनिरहँदा न उनलाई कसैको डर छ, न किसानको खोर रित्तो भएको पीडा छ । मन्थली नगरपालिका र हेफर प्रोजेक्ट सँग ५ वर्षको लागी दरिलो सम्झौता छ पहाडी समाजसँग । मन्थली नगरपालिकाको हाकीम सापसँग राम्रो साठगाठ छ अध्यक्ष कँडेलको । यत्ति भए पछि उनलाई केको डर? के को चिन्ता ? कसैले केही भन्दैमा उनलाई केही फरकै पर्दैन । उनी मन लाग्दी गर्छन् । किसानको खोर रित्तो बनाइदिन्छन् ।
को सँग कसको साठगाठ छ, को सँग कति पावर छ भन्ने कुरा तपशिलमा गर्दै गरौँला । तर हेफरको यो लापरबाहीका कारण किसानलाई पुगेको नोक्सानको भर्पाई कसले गर्ने ? हेफर प्रोजेक्टको सहजीकरण गर्ने संस्थाले की ? मन्थली नगरपालिकाले ? पावर र पहुँचका भरमा किसानलाई चुर्लुम्म डुबाउने छुट कसैलाई छैन, चाहे त्यो प्रोजे्क्ट होस वा सरकार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button