संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली प्रथम

रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन २०७९÷८० को नतिजा अनुसार मन्थली नगरपालिका ७४.५० अङ्क सहित प्रथम भएको हो ।जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा मन्थली नगरपालिका प्रथम भएको हो ।
मन्त्रालयको गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक हुँदा सुनापति गाउँपालिकाले ७४.२५ अङ्क प्राप्त गरी दोस्रो भएको विवरणमा उल्लेख छ । ७१.५० अङ्कसहित रामेछाप नगरपालिकाले तेस्रो भएको छ । उमाकुण्ड गाउँपालिका ७० अङ्क सहित चौथो बनेको छ । ६४ अङ्क प्राप्त गरेको गोकुलगंगा गाउँपालिकाले पाँचौँ स्थानमा पुगेको छ । दोरम्बा शैलुङ गाउँपालिकाले ६१.२५ अङ्क ल्याएर छैठो भएको छ । खाँडादेवी गाउँपालिकाले ५७.५० पाएर सातौँ भएको छ । ४५.७५ अङ्क प्राप्त गरी लिखु तामाकोशी गाउँपालिका अन्तिम पालिका बनेको छ ।
लिजामा विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्ने गर्छन् ।
स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन एउटा औजार हो । यसले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न, प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ । स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवर्द्धन गर्न सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गर्नु तथा नीतिगत कार्य योजना तयार गरी कार्यान्वयन गर्नु नै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन को मुख्य उद्देश्य हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button