दोलखाको पहिरो प्रभावित क्षेत्रको राजमार्ग तत्काल सञ्चालन गर्न मन्त्री काफ्लेको निर्देशन
दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अवरुद्ध सडकखण्डको पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री काफ्ले, सडक डिभिजन कार्यालयका प्रमुख र कर्मचारीको टोलीसहित पहिरोस्थल कालिञ्चोक– ४ को झमार्सी गुमु खोला पुगेर पहिरो क्षेत्रसहित अवरुद्ध सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री काफ्लेले तत्काल यात्रुलाई सहज बनाउन निर्देशन दिए।
साउन १२ गते आएको पहिरोको कारण अवरुद्ध सडक खुलाउन ढिलाइ गरेको जनगुनासो आएको भन्दै उनले तत्काल सडक मर्मतको काम पूरा गर्न निर्देशन दिए । डिभिजन सडक कार्यालयले छोटो अवधिको ठेक्का आह्वान गरी मर्मत सुरु गरेको उक्त क्षेत्रमा शुक्रवारबाट सवारीसाधन सञ्चालनमा आएका छन् ।
अनुगमनका क्रममा मन्त्री काफ्लेले बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको सडक अवरुद्ध भएको भन्दै जनताको दैनिक जीविकोपार्जनमा समस्या भएकोले यस्तो समस्या आउने दिनमा नआउने वातावरण बनाउन समेत निर्देशन दिए ।
डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख इन्जिनियर अमितकुमार श्रेष्ठले तत्काल सडक सञ्चालन गर्न कार्यालयको तर्फबाट कुनै कसर बाँकी नराखेको र गर्दागर्दै पनि कठिन भौगोलिक बनावटका कारण केही ढिलाइ भएको जानकारी गराए।