बेलुका सुतेको घर, बिहान चिहानमा परिणत
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहरी वस्तीका लागि भदौ ८ गतेको रात अनिष्ट बनेर आयो । सदाझै बेलुका खाना खाएर सकुसल सुतेका आधा दर्जन मानिसहरु फेरि कहिल्यै नबिउँझने गरी निधाएको निधाएकै भए । बेलुका सकुसल रहेको वस्ती बिहान चिहानमा परिणत भयो । वस्तीमाथिबाट काल बनेर आएको पहिरोसँगै बग्यो लेखर्क टोलका ४ घर । बेलुकासम्म सुन्दर वस्तीको रुपमा रहेको लेखर्कको पहरी वस्तीमा भोलीपल्ट बिहान वारिपारी वस्तीका मानिसहरुले घरको नामोनिसाना समेत देख्न पाएनन् ।
बेलुका काखे छोरालाई च्यापेर सुतेकी स्थानीय जनज्योति आधारभूत विद्यालयका शिक्षक समेत रहेकी चण्डिका थापामगर १८ महिने छोरालाई साथमै लिएर अस्ताइन् । त्यस्तै उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी र विज्ञान पहरी पनि सदाका लागि अस्ताए । उनीहरुका लागि आफैले बनाएको घर कालमात्र बनेन चिहानघाट नै बन्यो । पहिरोले पुरिएका ११ वर्षीया बालिका अञ्जना पहरीको भने खुट्टा भाँचिएको अवस्थामा जीवित उद्दार गरिएको छ । उनीहरुसँगै पहिरोमा पुरिएका पुट्की पहरी, काले पहरी, झ्याउकुरी पहरी र विन्दा पहरीको अझै अत्तोपत्तो छैन ।
पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दिनभर पहिरोले घर बगाएको ठाउँमा खनिरहे तर पनि पत्ता लाग्न सकेन् । उद्दार टेलीलाई स्थानीयले पनि दिनभर साथ दिए । स्थानीयले घर यहीँनिर थियो भनेर देखाएको ठाउँमा उद्दार टोली विस्कुट र पानीको भरमा खटिइरहे । बेलुकासम्म बेपत्ता भएकाहरुलाई पत्ता लगाउन भरपुर प्रयास गरे तर केहीसीप चलेन । दिन घड्कीदै गएसँगै फेरि झमझम वर्षा हुन सुरु भयो । वर्षा हुन सुरु भएसँगै उद्दार टोली समेत जोखिममा पर्ने अवस्था भएपछि उद्दार टोली आज (भदौ १० गते) पुनः खोजी कार्यमा जुट्ने गरी आआफ्नो वासस्थान तर्फ लागे ।
उक्त घटना रामेछाप जिल्लाकै पहिरोका कारण घटेका घटनाहरु मध्येकै ठुलो घटना हो । त्यसैले पनि संघीय मन्त्रीदेखि प्रदेश सभाका सांसद, जिल्ला प्रशासन कार्यालय लगायतका जिल्लाका सम्बन्धित निकायहरु घटना स्थलमा पुगेका थिए ।
व्यक्तिगत रुपमा हेलीकप्टर लिएर घटना स्थलको निरीक्षण गर्न संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पुगेका थिए । दिउसो करिब २ बजेट घटनास्थल पुगेका राज्यमन्त्री तामाङले मृतका परिवारलाई १० जनालाई प्रति व्यक्ति १० हजार रुपैयाँको दरले सहयोग प्रदान गरेका छन् । मन्त्री तामाङले मृतकका परिवारलाई व्यक्तिगत रुपमा प्रदान गरेको उक्त रकम एकमुष्ट गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई प्रदान गरेका हुन् । मन्त्री तामाङले उद्दार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन र विस्तापित परिवारहरुलाई बसोबासको लागि उचित व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् । मन्त्री तामाङले घटना स्थलको स्थलगत निरीक्षणपछि काठमाडौँ फर्किएर घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी दिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीसँग पीडितहरुका लागि राहत तथा जोखिममा रहेको वस्ती स्थानान्तरको लागि समेत तत्काल व्यवस्था गर्न आग्रह गरेको मन्त्री तामाङले बताएका छन् ।
त्यसैगरी घटनास्थल पुगेका बागमती प्रदेशसभा सदस्य युवराज चौलागाइले पीडित परिवारलाई तत्कालका लागि सुरक्षित वासको व्यवस्था तथा खोजी कार्यका लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताए । वेपत्ता व्यक्तिहरुको खोजी तथा पीडित परिवारको व्यवस्थापनमा जुट्न पनि गाउँपालिका लगायत सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । पहिरो क्षेत्रमा रहेका वस्ती स्थानान्तरण गर्नु आवश्यक देखिएकाले खोजी तथा पीडित परिवारको उचित व्यवस्थापनपछि दिर्धकालीन रुपमा वस्ती स्थानान्तरणको लागि पहल गर्ने बताएका छन् ।
त्यसैगरी जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले वेपत्ता भएकाहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन तथा विस्थापित परिवारको उचित व्यवस्थापनको लागि समन्वय गर्ने बताएकी छिन् ।
दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले विस्तापित व्यक्तिहरुलाई तत्कालका लागि पालिकाको केन्द्र समेत रहेको टोकरपुरस्थित विद्यालयमा बसोबासको व्यवस्था गरिने बताए । पहिरोका कारण ३४ घर विस्थापित भएको पनि उनले बताए । विस्थापित ३४ घरका १८० जनालाई तत्कालको लागि विद्यालयहरुमा खाने, बस्ने व्यवस्था गरिने गाउँपालिका अध्यक्ष मोक्तानले बताए । विस्थापित व्यक्तिहरुको लागि तत्कालको लागि आवश्यक खाना र बस्ने वासको व्यवस्था गाउँपालिकाले नै व्यवस्था गर्ने पनि उनले बताएका छन् । पीडितहरुको सहजताको लागि मृतकको शव पोष्टमार्टम घटनास्थलमै गर्ने व्यवस्था मिलाइएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । मृतकको शव घटनास्थलमै पोष्टमार्ट गरी आफन्तलाई जिम्मा लगाइएको पनि प्रजिअ निरौलाले जानकारी दिइन् । क
अविरल वर्षाका कारण शनिवार राति १० बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले ४ घर र एउटा पक्की पुल समेत बगाएको थियो ।