रातारात पालिका स्तरिय विपद् व्यवस्थापन बैठक

रामेछाप । शनिवार राती गएको पहिरोका कारणले बस्ती नै सखाप भए पछि दोरम्बा शैलुङ गाउँपालिकाले राती नै विपद् व्यवस्थापन समितिको बैठक राखेको छ । दिनभर उद्धारमा खटिएका पालिकाका जनप्रतिनिधिहरू साँझ परे पछि बैठकमा जुटेका थिए ।
पहिरोबाट विस्थापित वडा नं. ३ लेखर्कको ५९ घरधुरी संख्याको २६५ जना, डाँडा गोठ टोलको ३ घरधुरीको १६ जना, वडा नं. २ सिस्नेरी डाँडा टोलको १० घरधुरीको ४७ जना, भँडारेको ४४ घरधुरीको २३३ जना, वडा नं. ६ को २१ घरधुरीको १२० जना, वडा नं. ५ को ७ घरधुरी को २५ जना र वडा नं. ७ को ८ घरधुरीको २५ जनालाई अस्थायी आश्रयस्थल तथा राहतको यथोचित व्यवस्था गर्ने निर्णय समितिले गरेको छ ।
पालिकाले राहत एकद्वार प्रणाली मार्फत वितरण गर्ने, त्यसको निम्ति फोकल पर्सनको रूपमा वडा नं २ वडा अध्यक्ष श्री मेचमान योन्जन र ३ का वडा अध्यक्ष श्री सन्तलाल थापामगरलाई तोकेको छ । पहिरोमा परि बेपत्ता हरूको खोजिकार्य जारी राखे तथा सम्बन्धित सबै पक्षलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।
पहिरोमा परि मृत्यु भएका हरुका लागि क्षतिपूर्ति तथा घाइतेहरूका लागि उपचार खर्च सहित क्षतिपूर्तिका लागि माग गर्ने, प्राकृतिक प्रकोपबाट वडागत रूपमा भएको क्षति विवरण सङ्कलन गर्ने तथा पहिरोको उच्च जोखिममा रहेको जम्मा घरधुरी तथा वस्तिको लगत सङ्कलन गरी वस्ति स्थानान्तरणका उपयुक्त स्थानको व्यवस्थापनको लागि जिल्ला विपत् व्यवस्थापन समितिलाई सिफारिस गर्ने समितिले निर्णय गरेको छ ।



