अझै बेपत्ता छन् काले र झ्याउँकिरी

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परेर काले पहरी र झ्याउँकिरी पहरी अझै बेपत्ता छन् । पहिरो गएको यत्तिका दिन सम्म आफ्ना परिवारका सदस्यको सास र लासको कुनै टुङ्गो नहुँदा पिँडामा छन् पहरीका पवार । भए सम्म सास, नभए लास मात्रै भए पनि भेटिन सक्छ की भन्ने आसै आसमा छन् काले पहरी र झ्याउँकिरी पहरीका परिवार ।
गत ९ गते देखि १२ गते लगातार चार दिनसम्म नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूले खोज्न सम्म खोजी सके काले पहरी र झ्याउँकिरी पहरीलाई । उनीहरूले पहिरोले पुरेको ठाउँ जति सबै पाइला पाइला नापेर खनिखोस्री गरी सके । तर पनि काले पहरी र झ्याउँकिरी पहरीको कुनै अत्तोपत्तो छैन ।
अब त सास होइन लास मात्रै भए पनि भेटिन्छ की भन्ने आस समेत मरिसकेको स्थानीय बताउँछन् । पहिरोले पुरिएको भए त यत्तिका दिन खनिखोस्री गर्दा भेटिनुपर्ने, सायद पहिरोले काले पहरी र झ्याउँकिरी पहरीलाई खोलामा पु¥यायो, खोलाले कहाँ लग्यो लग्यो, स्थानीयले भने ।
यता उद्दारका लागी खटिएको नेपाल प्रहरीले समेत हार मानिसकेको छ पहिरोमा काले पहरी र झ्याउँकिरी पहरीलाई खोज्न ।
लगातार ४ दिन नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयहरू र हाम्रो टोलीले पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य ग¥यौँ । बेपत्ता मध्ये १ जनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको लास सोही दिन, थप १ जनाको सोमवार र अर्की १ महिलाको मङ्गलवार पैतालाको भाग मात्र फेला परेको थियो । यी ८ जनाकै सनाखत गरी आवश्यक प्रक्रिया सहित आफन्तलाई जिम्मा लगाइसकिएको छ । पहिरोमा पुरिएकाहरू मध्ये चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दीप पहरी, सन्तोष पहरी, विज्ञान पहरी, पुड्की पहरी र बिन्दा पहरीको शव भेटिएको छ । तर काले पहरी र झ्याउकारी पहरी अझै बेपत्ता छन्– प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले भने । उनले भने– अब पहिरोमा खन्न र खोज्न बाँकी कहीँ छैन, पहिरो मिसिएको खोलाको किनारमा फेरी खोजतलास गर्छौँ ।
भदौ ९ गते (आइतबार) बिहान करिब ३ बजेको समयमा गएको पहिरोमा परी ३ घर बगाँउदा र १ घर पुरिँदा हराइरहेका १० जना मध्ये बुधवार सम्म ८ जनाको सनाखत भैसकेको छ ।
विस्थापित व्यक्तिहरूलाई तत्कालका लागि दोरम्बा शैलुङ गाउँपालिकाले पालिकाको केन्द्र समेत रहेको टोकरपुरस्थित कण्ठेश्वर विद्यालयमा बसोबासको व्यवस्था गरेको छ । पहिरोका कारण ३४ घर विस्थापित भएको छ । विस्थापित ३४ घरका १८० जनालाई तत्कालको लागि विद्यालयहरूमा खाने, बस्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।