१५ वर्ष पछि पुनर्मिलन

रामेछाप । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको छ । उमेरले ५८ वर्षको दौरानमा रहेका पदमबहादुर १५ वर्ष अघि देखि परिवारसँगको भेटघाटमा थिएनन् । मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएको पदमबहादुर विगत १५ वर्ष देखि परिवार सँग भेटघाट नभएको चन्द्रमालाले बताइन् ।
चन्द्रमालाले भनिन्– उहाँ ४ वर्ष अघि देखि त पूर्ण रूपमा सम्पर्क विहीन हुनुभयो । हामीले उहाँलाई धेरै खोज्यौँ । छोरी दिलमाया पुन, छोराहरू प्रवेश तामाङ तथा सन्देश तामाङ लगायतले उहाँलाई खोज्न कुनै कसर छाडेनौँ । बल्ल रामेछाप प्रहरीका कारणले उहाँसँग भेट भयो ।
मुस्ताङ जिल्लाको चैले भन्ने ठाउँमा कामगर्दै आएकामा पदमबहादुरले काम गर्ने स्थानमा गई बुझ्दा उनी उक्त स्थानबाट रामेछाप स्थायी ठेगाना बताएका आफन्तको साथ लागी ४ वर्ष अघि गएको भनी बुझिएको जानकारी चन्द्रमालाले दिएको रामेछाप प्रहरीले बताएको छ । पदमबहादुरको खोजतलास गरी पाउँ भनी चन्द्रमाला घर्ती मगरले गत १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पछि पदमबहादुरको खोजीमा प्रहरी लागेको कार्यालयले जनाएको छ ।
चन्द्रमालाले आफ्ना श्रीमान् खोजीदिन निवेदन दिनासाथ रामेछाप प्रहरीले मातहतका प्रहरी कार्यालयहरू समेतमा पत्राचार गरी निवेदकले लिखित तथा मौखिक रूपमा बताएका सम्भावित व्यक्ति तथा स्थानमा समेत खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ । खोजतलासकै क्रममा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजी दिलखर्कमा भदौ १४ गते नै प्रहरीले पदम बहादुर तामाङको पत्ता लगाएको हो ।
पदमबहादुरको पत्ता लागेको भोलिपल्ट नै पदम बहादुरसँग उनको श्रीमती, छोरी र छोराहरू को भेट गराइएको प्रहरीले जानकारी दिएको छ । पदमबहादुरलाई स्थानीय बासी तथा जनप्रतिनिधि समेतको रोहवरमा १५ वर्ष पछि परिवारसँग पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ घर भएका चन्द्रमाला र उनको परिवार हाल पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड डेरा गरी बस्दै आएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button