अहिलेको सरकारबाट देशमा परिवर्तन सम्भव छैनः प्रकाण्ड
रामेछाप । अहिलेको सरकारबाट देशमा परिवर्तन सम्भव नभएको र परिवर्तनका लागि मन मिल्ने खालका सबै शक्तिहरू एकजुट हुन सक्ने विप्लवको नेतृत्वमा क्रियाशील नेपाल कम्युनिस्ट पार्टीका बागमती प्रदेशका इन्चार्ज एवं केन्द्रीय प्रवक्ता खड्काबहादुर विश्वकर्माले बताए।
ओली नेतृत्वको वर्तमान सरकारले दलाल र पुँजिवादीहरुको पक्षमा काम गरिरहेको आरोप लगाउँदै समाधानका लागि जनताहरूले पुनः आन्दोलन गर्नु पर्ने अवस्था सृजना हुँदै गएको पनि उनले बताए। जिल्ला पार्टीको छैटौँ पूर्ण बैठकपछि आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनका क्रममा विश्वकर्माले सो विचार व्यक्त गरेका हुन् ।
कम्युनिस्ट आन्दोलन र परिवर्तनका लागि रामेछाप ऐतिहासिक जिल्ला भएकोले यसको संरक्षणका लागि समाजको सबै शक्ति एकजुट हुनु उनले आग्रह गरे ।
एक अर्को फरक प्रश्नको जवाफमा नेता प्रकाण्डले आगामी (०८४) को निर्वाचनमा आफ्नो पार्टी पनि निर्वाचनमा जाने र अहिलेको अवस्थामा सबै पार्टी एक्ला–एक्लै चुनाव जाने हो भने आफ्नो पार्टीले सबै भन्दा बढी सिट जितेर शक्तिशाली पार्टीका रूपमा स्थापित हुने दाबी गर्नुभयो ।
उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरूले सत्ता प्राप्तका लागि गठबन्धन गरेर जोडिएका कारण ठुला पार्टीका रूपमा स्थापित भएको भएपनि आगामी ०८४ मा हुने आम निर्वाचनमा जनताहरूले उनीहरूलाई धुलो चटाउने ठोकुवा गरे ।