गन्तव्य टुडे राष्ट्रिय दैनिक ८ औँ वर्षमा प्रवेश

रामेछाप । रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक गन्तव्य टुडेले आफ्नो ८औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
आफ्नो स्थापना कालको ८औँ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी गन्तव्य टुडेले स्थापना दिवस मनाएको हो । जिल्लाको पत्रकारिता जगतमा छुट्टै पहिचान बनाउँदै शान्ति, समानता, सुशासन, समृद्धिका पक्षमा निष्पक्ष ढङ्गले कलम चलाउँदै आएको गन्तव्य टुडेले भ्रष्टाचार तथा कुशासनका विरुद्धमा स्वतन्त्र र निष्पक्ष रुपमा खबरदारीसमेत गर्दै आएको छ ।
यसरी आफूलाई नागरिकको बीचमा स्थापित गरिसकेको पत्रिकाले बागती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्र्रमुख आतिथ्यतामा ‘समृद्ध रामेछाप निर्माणमा सरोकारवालाको भूमिका विषयक वहस’ कार्यक्रम समेत सञ्चालन गरेको थियो । जिल्लाको समृद्धिका लागि सरोकारवालाहरुलाई थप जिम्मेवार बनाउने उद्देश्यले वहस कार्यक्रमको अयोजना गरेको गन्तव्य टुडेले विशेषाङ्क समेत निकालेको थियो । पत्रिकाले आफ्नो विशेषाङ्कमा जिल्लाको समृद्धिको लागि पर्यटनको भूमिकाको विषयमा विभिन्न लेखहरुलाई समेत निकै महत्वका साथ छापेको थियो । ‘समृद्ध रामेछाप निर्माणमा सरोकारवालाको भूमिका विषयक वहस’ कार्यक्रममा अन्तक्र्रियात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो । सहभागीहरुले जिल्लाको समृद्धिका विषयमा अतिथि वक्ताहरुलाई प्रश्न राखेका थिए भने वक्ताहरुले जवाफ दिएका थिए ।


यसैबीच गन्तव्य टुडेले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई नगदसहित सम्मान–पत्र प्रदान गरेको छ । जिल्लाको पत्रकारिताको संघर्षपूर्ण कालखण्डलाई गुजारेर आफूलाई पत्रकारिता क्षेत्रमा स्थापित गरेर नागरिक र राष्ट्रहितका पक्षमा निरन्तर कलम चलाएकोले अध्यक्ष नयाँघरेलाई सम्मान गरिएको गन्तव्य टुडेले जनाएको छ ।
गन्तव्य टुडेका सञ्चालक कल्याण बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्यटन मन्त्री विमल ठकुरी, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की र पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मन्तव्यका क्रममा जिल्लाको समृद्धि र रुपान्तरणका लागि पूर्वाग्रहरहित ढंगले पत्रकारले कलम चलाउनु पर्ने उनीहरुले धारणा राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button