बोलेरो दुर्घटना हुँदा १ को मृत्यु ५ जना घाईते

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीको भदौरे डाडा भन्ने स्थानमा सडक बाट २०० मिटर तल झर्दा दुर्घटना भएको हो । आइतबार दिउँसो २:०० बजेको समयमा बोलेरो दुर्घटनामा परी मन्थली नगरपालिका वडा नं ४ सालुका वडा सदस्य पदम माया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।
दुर्घटनामा परि ५ जना घाइते भएका छन । घाइतेहुनेहरुमा मन्थली नगरपालिका ४ की सिता नेपाली , सोही स्थानका सुजिता रसाइली, सरिता नेपाली, दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापा मगर रहेका छन् ।
५ महिने बालिका भने सकुशल रहेको बताइएको छ । गम्भिर घाइते दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापा मगरलाई थप उपचारको लागी काठमाण्डौँ पठाइएको छ भने अन्य ३ जनाको मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।