देश विकासमा सबैको सहकार्य आवश्यक– नगर प्रमुख श्रेष्ठ

मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामा आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले देश विकासमा सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् । नगर प्रमुख श्रेष्ठले पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै हो भन्ने तरिकाले आम नागरिकले गुनासो गर्ने गरेको तर आफूले गर्नु पर्ने कर्तव्यहरू भुल्दै गएको भनाइ राखे । कृषि क्षेत्रमा काम गर्ने सहकारी, विभिन्न संघसंस्थाहरु, सरोकारवाला निकाय र सरकारको संयुक्त प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले अब सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले कृषि सहकारी संघले मन्थली नगर क्षेत्रलाई मुख्य क्षेत्र बनाएर काम गर्ने योजना अगाडि सारेमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागार थापाले जिल्लामा रहेका सबै कृषि सहकारी संस्थाहरूले कृषि क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिए । उनले जिल्लाको कृषि क्षेत्रलाई प्रभावकारी बनाउनको लागि जिल्ला समन्वय समितिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले पछिल्लो समयमा देशका विभिन्न ठाउँका केही सहकारीको समस्याले गर्दा रामेछापका सहकारी संस्थाहरूले पनि विभिन्न आरोप खेप्नु परेको भनाई राख्दै त्यस्ता आरोपहरूलाई चिर्ने गरी काम गर्नु पर्नेमा जोड दिए । उनले जिल्लामा रहेका सहकारीहरूको यकिन तथ्यांकहरु नभएकाले त्यो तथ्याङ्कलाई यकिन गर्नको लागि सहकारीहरूका छाता संगठन र सरकारी निकायहरूले चाँडो काम गर्नु पर्नेमा जोड दिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका उपाध्यक्ष नवीन केसीले कृषि सहकारीहरूलाई राम्रोसँग परिचालन गर्न सके समृद्ध देश बन्ने धारणा राख्दै कृषि सहकारीहरूले आफ्नो उद्देश्य अनुसार काम गर्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले कृषि क्षेत्रमा काम गर्ने भनेर स्थापना भएका कृषि सहकारीहरूलाई अन्य सहकारीसँग तुलना गर्न नमिल्ने धारणा राख्दै कृषि क्षेत्रलाई सुधार गर्नको लागि कृषि सहकारीले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिए ।
रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले जिल्ला कृषि सहकारी संघसँग रामेछाप उद्योग वाणिज्य संघले समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउँदै कृषि सहकारी संघले पनि वाणिज्य संघसँग समेत समन्वय गरेर काम गर्न अनुरोध गरे ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको छैठौँ साधारण सभामा संघका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले जिल्ला कृषि सहकारी संघले विगत देखि गरेका कृषिजन्य कार्यको जानकारी सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्ला कृषि सहकारी संघको साधारण सभाले आगामी दिनमा संघले गर्ने विभिन्न कामको योजना समेत अगाडि सारेको र ती योजनाहरू साधारणसभाले पास गरेको संघका सचिव सुन्दर घिमिरेले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button