निःशुल्क तालिमले बल्यो दिलमायाको आशाको दियो

मिलन घिमिरे । रामेछाप ।सुकिला हात, हातैभरि चुरा, आँखामा गाजल, ओठमा मन्द लिपस्टिक । जिउडाल सुहाउँदो पोसाक, बजारमा ‘फेसन’ बनेका चप्पलमा सजिएर बसेकी दिल माया । यसरी चिटिक्क परेर आफ्नै पेसा व्यवसायमा रमाउला कमाउला भनेर आज भन्दा १ वर्ष पहिले सम्म कहिल्यै सोचिनन् दिल माया थामीले । त्यो सोचुन् पनि कसरी ? दिनभर ज्याला मजदुरीमा कुद्नै फूर्सद् थिएन उनलाई। त्यो पनि कल्पनामै समिति हुने कुरा के सोचेर टाउको दुखाउनु? त्यसैले पनि ती पीडा दिने कल्पना उनी गर्दै गर्दिन थिइन् ।
६० वर्ष माथिका वृद्धा बा–आमाको आर्थिक अवस्था र घर परिवारको दैनिकीले त्यो सोच दिल मायाको लागि आलो घाउमा नुन छर्किनु सरह हुन्थ्यो । २० वर्ष उमेर पुगी सकेकाले बा–आमा र दाजुभाइले भनेको केटासँग चुपचाप बिहे गरी अर्काको घरमा बिना सिप जानु बाहेक अर्को विकल्प सायदै दिमागमा आएको थिएन । झन् एसएलसी मा फेल भएपछि त अर्को बज्रपात नै थपियो उनीमाथि । स्कुल जाने बाटो पनि टुट्यो ।
खाँडादेवी गाउँपालिकाको दुर्गम बस्ती बसेरी गाउँमा पिछडिएको अल्पसङ्ख्यक थामी समुदायमा जन्मिएर परिवारको गाँसका लागि दैनिक ज्याला मजदुरी गर्नु उनको बाध्यता बन्यो । त्यसैमा जीवन बित्ने बाध्यतामा रहेकी दिल मायाले जब सामुदायिक विकास समाज (सिडिएस) को ७२ दिने निःशुल्क ब्यूटीपार्लरको तालिम ठाँटीमा सञ्चालन हुँदै छ, भन्ने सूचना सुनिन् त्यसपछि छुट्टै मेहनत र जोस आयो । आशाको झिनो दियो बल्यो ।
टिमुरे बसेरीका विभिन्न ठाउँमा डोको, नाम्लो, हँसिया, कोदालोसँगै वन जङ्गल र ज्याला मजदुरीमा बित्ने दिनहरू बिर्सेर सिप सिकेर पैसा कमाउने र परिवारको हेरचाह गर्ने सपनाले तान्यो उनलाई । जीवनको सहज बाटो तर्फ डो¥याउला की भन्ने आसा जायो उनीमा।
तालिम जान घरबाट भ्याइने अवस्था थिएन । तर दिलमायाले हिम्मत गरिन् । परिवारको निर्णय विरुद्ध जबरजस्ती ठाँटीमै बसेर तन–मन लगाएर निःशुल्क सिप लिइन् । ७२ दिनमा थ्रेडिङ, किल्जिङ, हेयर कटिङ, कपाल हाईलाइट, स्टेट र आइरन गर्ने जस्ता मेकअप गर्न सिकेपछि दिलमायामा छुट्टै आत्मविश्वास बढेर गयो । हिजो, अर्काको मजदुरीमा बिताउने दिनहरू अब आफै सानो व्यवसाय गरेर सुखले आम्दानी गर्न सक्छु भन्ने आत्म विश्वास जागेर गयो दिलमायामा ।
झन्, (सिडिएस) ले सिप सिकेपछि दिएका ‘अफरहरू’ले त, दिलमायाको खुसी थामी सक्नु भएन । ७२ दिनको तालिम पछि रोजगारीमा जानेलाई जागिरमा जोडी दिने, स्वरोजगार बन्छु भन्नेलाई अनुदानमा प्राविधिक एवं भौतिक सहयोग गर्ने सुनेपछि बा आमासँगको सहकार्यमा दिलमायाले ‘ब्युटी पार्लर’ खोल्ने निधो गरिन् ।
गाउँबाट ओहोर–दोहोर गर्न सकिने सानो बजार टिमूकै पाङ्चेतमा कोठा भाडामा लिएर पार्लर खोलेर बस्ने निर्णय गरेपछि सिप सिकाएर दक्ष र आत्म विश्वास दिलाउने सिडिएससँग सहयोग मागिन् । उद्यमशीलता र सिप विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने अभियानमै रहेको सिडिएसले पनि दिलमायाको जोस, जाँगर र आत्मविश्वासलाई निराश पारेन । उनीसँग भएको सिप र दक्षतालाई बुझेर पार्लर सञ्चालन गर्न आवश्यक पर्ने फर्निचर, कुर्ची, टेबल, मेकअपका प्रविधिहरू गरी १ लाख ७० हजार बराबरको सामाग्री अनुदान सहयोग उनले भनेकै ठाउँमा पु¥याइदियो ।
पार्लर खोलेपछि दैनिक ४÷५ जना ग्राहक नियमित आउने थाले । युवती र महिलाहरूलाई गाउँमै सुन्दर र राम्री बन्न पाइने थलोको रूपमा दिल माया चिनिँदै गइन् । बिहान बेलुका घरमा बाआमालाई घरायसी काममा सघाउन पनि पाइने, घरायसी खर्चको लागि पार्लरबाट आम्दानी पनि हुने भएपछि दिलमायाको दिल खूस् बन्दै गयो। सामुदायिक विकास समाज, चाइल्ड नेट्रोक र बिएम जेड् जर्मनको आर्थिक सहयोग उनको लागि जीवन जिउने आशाको दियो बन्यो, वरदान साबित भयो ।
बसेरी थामी टोलमै यसरी आफ्नै पसल खोलेर पार्लरको साहुनी बन्ने पहिलो महिला बनेकी छिन् दिलमाया । अल्पसङ्ख्यक थामी समुदायको नीति नियम र परम्पराबाट माथि उठ्दै सबैसँग खुलेर बोल्न सक्ने र आफ्नै व्यवसाय गरेर अर्थोपार्जन गर्न सक्ने भएपछि दिल मायाको गाउँमा ठुलो मान बढेको छ ।
पार्लर खोलेको एक वर्षको अवधिमा उनले सन्तुष्ट हुने गरी आम्दानी गर्न थालेकी छिन् । उनी भन्छिन् ‘अब यो कामबाट राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने विश्वास जागेको छ’। अब ‘टु–लेबल’ को तालिम गर्न पाए झन् राम्रो हुन्थ्यो ।’
श्री कृष्ण माध्यमिक विद्यालय नजिकै रहेको पार्लरमा केटा–केटीले किन्ने सामान्य मिठा चकलेटको पनि बिक्री बढ्न थालेको छ । ’मिसहरू’ मेकअप गर्न उनकै पार्लर आउने गरेका छन् ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र (सिडिएस) का प्रतिनिधि अल्पसङ्ख्यक समुदायकी दिलमायाले गरेको उद्धमशिलता हेर्न पुग्दा खुसी हुँदै भनिन् ‘अब दर्ता पनि गर्छु । गाउँपालिकाले पनि त सहयोग गर्ला नि ।’
गाउँपालिकाले धेर–थोर आर्थिक सहयोग गरे सामान थप्ने योजना छ उनको । स्थानीय सरकारले हामीलाई सहयोग गर्नु पर्छ । अहिले गाउँमा फलाना (शोठे थामी)को छोरी ले त गाउँमै बसेर यत्रो गरी भनेर हाइ–हाई छ । बा आमा पनि खुसी छन् । अर्काको ज्याला मजदुरीमा भन्दा धेरै सुख छ । हात गोडा मैलो हुँदैन । कपडा पनि राम्रै लगाएकी छु । मैले एक्लै भ्याइन भने बहिनी कविता थामीले पनि सघाउने गरेकी छ ।
सिडिएसले गत वर्षदेखि तालिम दिँदै रोजगारीमा जोड्ने र उद्यमी बन्नेलाई सहयोग समेत गर्न थालेपछि बेरोजगार भएर बस्न बाध्य भएका किशोर किशोरीहरूलाई समेत निकै लाभदायक बन्दै गएको छ । सिडिएसले एक आर्थिक वर्षमा विभिन्न २७ वटा तालिम मार्फत ५ सय बढी युवा युवतिलाई ब्युटी पार्लरसहित मोटरसाइकल मर्मत, एसी, फ्रिज मर्मत, कपडा बुन्ने लगायतको तालिम दिएको सिडिएसको परियोजना फोकल पर्सन उत्तम ढुङ्गानाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button