वडा अध्यक्ष कार्की माथि पत्रकार बोहरालाई हातपात गरेको आरोप
रामेछाप । मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले आफू माथि हातपात गरेको आरोप नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका सचिव सागर बोहराले लगाएका छन् । आफूमाथि निर्वाचित वडा अध्यक्षले आक्रोशपूर्ण तरिकाले ‘हात हालेको’ सचिव बोहराले बताएका हुन्।
बिहीबार बिहान वडा अध्यक्ष कार्कीले आफूमाथि आक्रोशित हुँदै हातपात गरेको युनियन रामेछापका सचिव बोहराले बताए ।
दोभानचौर खबर डटकमका सञ्चालक समेत रहेका पत्रकार बोहराले आफूमाथि ‘मन्थली नगरपालिकाबाट गत आर्थिक वर्षमा नगरका जनप्रतिनिधि र कर्मचारीले लिएको भ्रमण भत्ता लगायतको विषयमा सूचना माग गरेको र उक्त सूचनाको विषयलाई लिएर वडाध्यक्ष कार्कीले कफी पिउने बहानामा बोलाएर गालीगलौज गर्दै हातपात’ गरेको बताएका हुन् । आफूमाथि ‘नियतवस त्यसो’ गरिएकाले कानुनी उपचार खोज्ने धारणा सचिव बोहराले राखेका छन् ।
सो घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस युनियन रामेछापले घटना प्रति ‘घोर निन्दा’ गरेको छ । प्रेस युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले विज्ञप्ति जारी गर्दै ‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि भएको उक्त घटना स्वतन्त्र प्रेस विरोधी कार्य भएको युनियनले ठहर गरेको’ उल्लेख गरेकी छिन् ।
वडा अध्यक्ष कार्कीले भने आफूलाई भ्रष्ट्राचारी भन्दै हिँडेको दाबी गरेको सामाजिक सञ्जालमा दाबी गरेका छन् । पत्रकार बोहराले ‘सार्वजनिक स्थलमा वडा अध्यक्ष भ्रष्ट्राचारी भन्दै हिँडेको र ‘यदि भस्टचार गरेको आधार प्रमाण भए प्रमाणित गरियोस् हैन भने जुन सुकै मूल्य चुकाउनु नि तयार रहेको उनले लेखेका छन् ।’