कोलकाताबाट सिधै विराटनगर आइपुग्यो ‘कार्गो रेल’

विराटनगर — भारतको कोलकाताबाट खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ शनिबार एकीकृत जाँच चौकी (आइसीपी) विराटनगर आइपुगेको छ ।

गत साउन १ गते कोलकाताबाट हिँडेको ४० वटा कन्टेनरसहितको कार्गो रेल विराटनगर-१८ बुधनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको हो । स्वास्तिक आयलका लागि कच्चा पदार्थ लिएर आएको उक्त रेललाई विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणले स्वागत गरेका थिए ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै सिधै नेपालतर्फको आइसीपी परिसरसम्म ल्याउने व्यवस्था शनिबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा कार्गो रेललाई बिदाइ गरेका थिए ।

विराटनगर भन्सार प्रमुख श्रेष्ठका अनुसार यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटकमा ४० फिटका ४५ वटा कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ ।

सडकमार्गको तुलनामा कार्गो रेलबाट ढुवानी गर्दा सामान सुरक्षित, भरपर्दो र लागतसमेत कम हुने व्यवसायीहरू बताउँछन् । कोलकाताबाट करिब २४ घण्टाभित्रै विराटनगर सामान आइपुग्ने भएकाले यसले औद्योगिक कच्चा पदार्थ ढुवानीमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।

यसअघि २०८० जेठ १८ गते परीक्षणका रूपमा विराटनगरमा कार्गो रेल आएको थियो । वीरगञ्जमा मात्र सीमित रहेको यो सुविधा अब विराटनगरमा पनि निरन्तर सञ्चालनमा आएपछि पूर्वका उद्योगी-व्यवसायीहरू उत्साहित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button