आँबुखैरेनीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी चितवन जिल्ला भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटनामा घाइते सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्याय पछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका–५ बस्ने २२ वर्षीया अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षीय किसान वि क, व्यास नगरपालिका–१२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका–८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ५१ वर्षीय सुनिल ढकाल घाइते भएका छन् ।
त्यसैगरी लमजुङको बेसीशहर नगरपालिका–३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ४२ वर्षीय रामशरण कुँवर, सहिद लखन गाउँपालिका–२ घर भई हाल बन्दीपुर गाउँपालिका–१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका–१० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएको प्रहरीले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिका–३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस सडक छेउको कल्भर्टमा पल्टिएको थियो । प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस चालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई नियन्त्रणमा लिएर घटनाको बारे थप अनुसन्धानको जानकारी दिएको छ ।



