रामेछाप नगरपालिकाले ७८ वर्षमाथिका जेष्ठ नागरिकलाई गर्यो सम्मान

रामेछाप । रामेछाप नगरपालिकाले “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रम अन्तर्गत ७८ वर्षमाथिका बुबाआमाहरूलाई सम्मान गरेको छ। नगरपालिकाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई हर्लिक्स, छाता र टर्च लाइट वितरण गरिएको हो।
सम्मान कार्यक्रम रामेछाप नगरपालिकाका नगरप्रमुख आदरणीय लवश्री न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, प्रवक्ता समीर कार्की, स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्की, रोजगार संयोजक विजय बराललगायत अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।
नगरप्रमुख न्यौपानेले ज्येष्ठ नागरिकहरू देश र समाजको आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरूको अनुभव, सल्लाह र मार्गदर्शन भावी पुस्ताका लागि मार्गदर्शक हुने बताए। “हामीले ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्नु हाम्रो सामाजिक कर्तव्य हो,” मेयर न्यौपानेले भने, “यो सम्मान कार्यक्रम उनीहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्ने सानो प्रयास हो।”
कार्यक्रममा सहभागी १ सय ३५ जेष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट स्वास्थ्यमा सहयोग पु¥याउन हर्लिक्स, वर्षायामलाई मध्यनजर गर्दै छाता, तथा सुरक्षाको दृष्टिले टर्च लाइट १÷१ थान प्रदान गरिएको थियो।
स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले कार्यक्रमले जेष्ठ नागरिकको सम्मान मात्र नभई उनीहरूको स्वास्थ्य सुरक्षामा पनि योगदान पु¥याउने अपेक्षा गरिएको बताए। प्रवक्ता समीर कार्कीले रामेछाप नगरपालिकाले ज्येष्ठ नागरिक हितमा यसअघि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी पहल गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले नगरपालिकाको यस पहलको खुलेर प्रशंसा गरे। उनीहरूले राज्यबाट प्राप्त सम्मान र सद्भावले आफुहरूमा आत्मगौरव र आत्मविश्वास बढेको अनुभव साझा गरे।
नगरपालिकाले आगामी दिनहरूमा पनि “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।



