सिन्धुलीको महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमुना घोषित

सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ मा अवस्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई सिन्धुली जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषित गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीको पहलमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।
स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard – MSS)
मूल्यांकनमा जिल्लाभरका स्वास्थ्य संस्थामध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ९० अंक प्राप्त गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेलले जानकारी दिए। उनका अनुसार मूल्यांकनमा उच्च अंक ल्याएर महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाको गौरव बोक्ने अवसर प्राप्त गरेको हो।
कार्यक्रमका अवसरमा प्रमुख पटेलले हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबालाई “नमुना स्वास्थ्य संस्था“ को प्रमाणपत्र र आवश्यक स्वास्थ्य सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। यसअघि पटेलको नेतृत्वमा जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले महेन्द्रझ्याडी स्वास्थ्य चौकीको स्थलगत अवलोकन समेत गरेका थिए।
स्वास्थ्य सेवा, जनमैत्री व्यवहार, पूर्वाधार, स्वच्छता, रेकर्ड व्यवस्थापन तथा नियमितता जस्ता सूचकहरूमा चौकीले उल्लेखनीय सुधार गर्दै उदाहरणीय मोडेल प्रस्तुत गरेको बताइएको छ। गाउँपालिकाका प्रमुख वाइबाले स्वास्थ्य चौकीको उपलब्धिलाई सम्पूर्ण पालिकाको गौरवको विषय बताउँदै आगामी दिनमा अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर गरिने प्रतिबद्धता जनाए।
स्वास्थ्य चौकीले निरन्तर प्रयास, व्यवस्थापन सुधार, र कर्मचारीको सक्रिय सहभागिताबाट यो उपलब्धि हासिल गरेको बताइएको छ। स्थानीयवासीले पनि चौकीलाई नमुना संस्थाको मान्यता मिलेकोमा खुसी व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको मेहनती सेवाको खुलेर प्रशंसा गरेका छन्।



