घट्यो मन्थली नगरपालिकाको आन्तरिक आम्दानी

रामेछाप । चालु आर्थिक वर्ष २०८१÷०८२ मा रामेछापको मन्थली नगरपालिकाको आन्तरिक आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष नगरले ४ करोड ३० लाख रुपैयाँको लक्ष्य राख्दा पनि लक्ष्यभन्दा बढी आम्दानी गरेर ४ करोड ६३ लाख १९ हजार ६०० रुपैयाँ सङ्कलन गरेको थियो। त्यो लक्ष्यभन्दा १०७.७२ प्रतिशतले बढी हो।
तर, यो वर्ष भने ३ करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा ९८.०७ प्रतिशत मात्रै संकलन भएको छ। जम्मा ३ करोड ७७ लाख ५७ हजार ४१७ रुपैयाँ मात्रै आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले जानकारी दिए।
नगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ८५.८८ प्रतिशत खर्च गरेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत नगरले चालुतर्फ ८९.४९ प्रतिशत र पुँजीगततर्फ ७७.०९ प्रतिशत बजेट खर्च गरेको विवरण सार्वजनिक गरिएको हो। नगरको कुल बजेट १ अर्ब १ करोड ९७ लाख ८१ हजार रुपैयाँ रहेको छ।
नगरले यस वर्ष वडा, नगर, प्रदेश तथा संघ सरकारका स्रोतहरू मार्फत गरी कुल ६२९ वटा योजना कार्यान्वयनमा ल्याएकोमा ५९६ वटा योजनाको सम्झौता भई ५९२ योजना सम्पन्न भइसकेका छन्। योजनाको कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको जनाइएको छ।
कृषि क्षेत्रको प्रवद्र्धनका लागि डेरी मार्फत दूध बेच्ने २११ जना किसानलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले ६ लाख ४७ हजार ८०५ रुपैयाँ बैंक खातामार्फत अनुदान भुक्तानी गरिएको छ। यस्तै, दीर्घरोगीलाई लक्षित गर्दै ९७ जनालाई मासिक ५ हजार रुपैयाँका दरले औषधोपचार भत्ता प्रदान गरिएको सापकोटाले सुनाए।
शिक्षा क्षेत्रतर्फ नगरका १४ वटै वडाबाट एक÷एक जना विद्यार्थीलाई विज्ञान संकायमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको जानकारी पनि कार्यक्रममा सार्वजनिक गरियो।
शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी र कृषि लगायतका विषयमा प्रश्न राखेका थिए। ती प्रश्नहरूको उत्तर नगर प्रमुख लव श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल र अन्य सरोकारवाला अधिकारीहरूले दिएका थिए।
नगर उपप्रमुख ईश्वरी बस्नेतले सबैको सहभागिता र सहकार्यमा समृद्धिको यात्रालाई गति दिने प्रतिबद्धता जनाइन्। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नागरिकबाट आएका सुझावहरूलाई ध्यानमा राख्दै सुधारात्मक कामलाई प्राथमिकता दिइने बताए।
सार्वजनिक सुनुवाइ कार्यक्रमले योजनाको प्रगति, बजेटको उपयोग, र नगरवासीका प्रत्यक्ष सरोकारका विषयमा बहस गर्ने अवसर दिएको सहभागीहरूले बताएका छन्।



