रामेछाप नगरपालिकाद्वारा उत्कृष्ट कर्मचारी, संस्था, वडा र विद्यालयलाई सम्मान

रामेछाप । रामेछाप नगरपालिकाले चालू आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, संघसंस्था, उपभोक्ता समिति, वडा तथा सामुदायिक विद्यालयलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ। शुक्रबार नगरपालिकाको १७ औँ अधिवेशनमा रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले उत्कृष्ट कार्य प्रदर्शन गर्नेहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे।
नगरपालिकाले विगत एक वर्षभित्रका उपलब्धि, सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रशासनिक दक्षता मूल्यांकन गरी विभिन्न श्रेणीमा उत्कृष्ट ठहरिएकाहरू मध्ये ११ जना कर्मचारीलाई विशेष सम्मान गरेको हो। सम्मानित हुनेमा वरिष्ठ शाखा अधिकृत होम बहादुर थापा, वरिष्ठ पशु विकास अधिकृत काजी शेर्पा, शाखा अधिकृत नारायण सुवेदी, जनस्वास्थ्य निरीक्षक युवराज सापकोटा, वरिष्ठ सहायक घनामाया श्रेष्ठ, सब इञ्जिनियर बिक्रम हायु, वडा सचिव यम कुमार कार्की, अ.सब इञ्जिनियर सबिना श्रेष्ठ, सहायक कम्प्युटर अपरेटर भागवत श्रेष्ठ, सवारी चालक लक्ष्यमा केसी, र कार्यालय सहयोगी सार्की शाही रहेका छन्।
त्यस्तै, योजना कार्यान्वयनमा विशेष योगदान पु¥याउने उपभोक्ता समिति, संघसंस्था, वडा तथा विद्यालयलाई पनि सम्मान गरिएको छ। चालू आर्थिक वर्षमा उत्कृष्ट योजना कार्यान्वयन गर्ने उपभोक्ता समिति तर्फ धारापानी–डुम्रीखर्क सडक उपभोक्ता समितिलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ।
संघसंस्थातर्फ रामेछाप–८ मा रहेको ‘श्री समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था’लाई उत्कृष्ट संघसंस्था घोषणा गर्दै नगद २० हजार रुपैयाँको पुरस्कार दिइएको हो।
शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको सामुदायिक विद्यालय तर्फ श्री महाकाली आधारभूत विद्यालय, मुडाजोरलाई उत्कृष्ट विद्यालय घोषित गर्दै ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
त्यस्तै, योजना समयमै सम्पन्न गर्ने वडातर्फ वडा नं. ९ (ल्याङल्याङ वडा कार्यालय) र सबैभन्दा बढी राजस्व संकलन गर्ने वडातर्फ वडा नं. ६ (च्यास्कु, ओख्रेनी वडा कार्यालय) लाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
नगरपालिकाले २०८१ सालको चैत्र १६ देखि १८ गतेसम्म सम्पन्न रामेछाप जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएर प्रथम स्थान हासिल गर्ने आफ्ना खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको छ। नगरपालिकाबाट प्रतिनिधित्व गर्दै उसु, तेक्वान्दो र हाईजम्प खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने खेलाडीहरूलाई जनही रु. ५,०००÷– का दरले नगद पुरस्कार वितरण गरिएको छ। यस्तै, महिला कबड्डी प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्ने १० जना खेलाडीलाई सामूहिकरूपमा एकमुष्ट रु. २०,०००÷– प्रदान गरिएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लवश्री न्यौपानेले नियमित सेवा प्रवाह, पारदर्शिता, समावेशी योजना कार्यान्वयन तथा उत्तरदायित्वपूर्ण प्रशासन निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताए। उनले भने, “हाम्रो उद्देश्य मात्र योजना संख्यामा वृद्धि गर्नु होइन, गुणस्तरीय र दीर्घकालीन प्रभाव पार्ने विकास निर्माणतर्फ अघि बढ्नु हो। उत्कृष्ट कार्य गर्नेहरूलाई हौसला दिन यो सम्मान कार्यक्रम गरिएको हो। यसले अरूलाई पनि प्रेरणा दिने विश्वास लिएको छु।”
कार्यक्रममा नगर उपप्रमुख बालकुमारी कार्की, कार्यपालिकाका सदस्य, शाखा प्रमुख, वडा अध्यक्ष, कर्मचारी, शिक्षक, उपभोक्ता समितिका प्रतिनिधि, संघसंस्था तथा विद्यालय प्रतिनिधिको बाक्लो उपस्थिति थियो।
यस किसिमको सम्मान कार्यक्रमले सेवा प्रवाहमा थप उत्तरदायित्व, पारदर्शिता र नतिजामुखी कार्यशैली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सम्मानित व्यक्तिहरू र संस्थाहरूले आगामी दिनमा अझ निष्ठापूर्वक र सिर्जनात्मक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै अधिवेशनले कार्यपालिकामा गत ९ असारमा पेस गरिएको बजेटलाई नै सर्वसम्मतले पास गरेको छ ।



