Trending

कागजमा राजमार्ग, धरातलमा धुलो

रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने यो दृश्य नयाँ लागेन । किनभने, हरेक वर्ष दशैँ, तिहार वा चाडपर्व आउनै लाग्दा कुनै न कुनै उच्च अधिकारी सडक हेरेर फर्किन्छन्, केही मीठा वचन बाँड्छन्, अनि फेरि अर्को वर्षको अर्को अनुगमन कुर्नुपर्ने हुन्छ।
१६ किलोमिटर लामो लिखु करिडोर अन्तर्गत पर्ने यो सडक लामो समयदेखि कागजमा राजमार्ग, तर वास्तविक जीवनमा गाउँलेको दुःखको रथ बनेको छ । बागमती प्रदेश राजमार्गमा परेपछि त आशा अझ बढेको थियो। तर, आशा यतिखेर निराशामा बदलिएको छ, जब सडक अझै धुलो–हिलो, पहिरो र साँघुरो घुम्तीमै थुनिएको छ।
काम भै रहेको पूर्वाधारको रटान
जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्र पुन भन्छन्—“हाल कोलन्जोरघाटको पुलबाट ४.५ किलोमिटर कालोपत्रे हुँदैछ।” यो वाक्य गाउँलेहरूले यति पटक सुनेका छन् कि अब यो उनीहरूको दिकदार विषय बनेको छ। स्थानीय भन्छन्—“पूर्वाधार कार्यालयको घोषणामा हरेक पटक कालोपत्रे सुरु हुन्छ, तर हाम्रो खुट्टामा धुलो अझै बाक्लो हुन्छ।”
पूर्वाधार विकास कार्यालयको कामको गति देख्दा लाग्छ, यो कार्यालय ‘पूर्वाधार’ होइन, ‘पूर्व–आश्वासन विकास कार्यालय’ हो। यहाँ परियोजना भन्दा पनि बैठक, योजना भन्दा पनि बजेट हेरफेर, र काम भन्दा पनि कागजको रंग चट्ट देखिन्छ।
यो सडक यात्रा होइन, ‘धैर्यको परीक्षा’ हो।
साँघुटारका नवराज ढकाल लगायत स्थानीय अगुवाहरूले प्रजिअको टोलीसँग भेट्दा आग्रह गरे—“हामीलाई जति सक्दो चाँडो सडक मर्मत गरेर सवारी साधन चल्ने बनाउन सहयोग गर्नुहोस्।” स्थानीयको भनाइ सुन्दा लाग्छ, सडक निर्माण अब प्रार्थनाजस्तै भएको छ। जसरी गाउँले वर्षा गराउन÷वर्षा रोक्न प्रार्थना गर्छन्, त्यसरी नै उनीहरूले सडक कार्यालयले आफ्नो काम गरोस् भनेर प्रार्थना गर्नुपर्ने बाध्यता छ।
यात्रुहरूको व्यथा अझ दर्दनाक छ। काठमाडौं–रामेछाप–ओखलढुँगा जानु पर्ने यात्रुहरूलाई सालु–साँघुटार खण्ड भनेपछि दिक्क लाग्छ। कतिपय यात्रुले मजाकमा भन्छन्—“यो सडक यात्रा होइन, ‘धैर्यको परीक्षा’ हो।” सडकको धुलोले शरीर पुरै सेतो हुने, हिलोमा पैताला अड्किने, अनि पहिरोमा सास रोकिएर अड्किने अवस्था यात्रुहरूको दैनिकी बनेको छ।
प्रजिअको अनुगमन संस्कृति
रामेछापका प्रजिअ श्यामकृष्ण थापाले सडक निरीक्षण गरेर तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिए। तर, यहाँको वास्तविकता यही छ—सडक निरीक्षण प्रजिअले देखेपछि मात्रै अस्तित्वमा आउँछ। मानौं, सडक ‘अदृश्य वस्तु’ हो, जुन प्रजिअको आँखा पर्नासाथ मात्र दृश्य हुन्छ। गाउँले कटाक्ष गर्छन्—“प्रजिअ साहेबले हाम्रो सडक देख्नुहुँदैन भने यो सडक अस्तित्वमै रहँदैन। उहाँको चश्माले देख्दा मात्रै हाम्रो बाटो बन्छ।” यो दृश्य नेपाली विकास प्रशासनको प्रष्ट झल्को हो—काम नभएर पनि ठूला–ठूला निर्देशन, बैठक र प्रतिबद्धताले मात्र परियोजना ‘चलिरहेको’ देखाइन्छ।
दशैँपछि सुरु हुने काम
पूर्वाधार विकास कार्यालयका प्रमुखले दशैँपछि सडक मर्मत सुरु गर्ने आश्वासन दिएका छन्। गाउँले अब यो वाक्य सुन्नासाथ हाँस्छन्। किनभने, ‘दशैँपछि’ भन्नु भनेको ‘कुन दशैँपछि?’ भन्ने प्रश्न अझै अनुत्तरित छ।
नेपालमा विकासका कामहरू प्रायः चाडपर्वसँगै बाँधिएका हुन्छन्। चुनावपछि, दशैँपछि, बजेट पास भएपछि भन्ने वाक्य विकास प्रशासनको मन्त्रजस्तै बनेको छ। तर, त्यो मन्त्रले बाटोमा धुलो घटाउँदैन, यात्रुको पीडा कम गर्दैन।
सडक कि सहनशीलता परीक्षण?
सडक यति साँघुरो छ कि ठूला गाडी चलाउने कुरा सपना जस्तै छ। तर, निरीक्षण टोलीले भन्यो—“साना गाडी त चल्छन्।” यो भनाइ सुन्दा गाउँलेहरू व्यंग्य गरे—“हाम्रो जीवन पनि सानो नै छ, त्यसैले सानो गाडी चल्दा पुग्छ भन्ने हो कि?”
यस्तो अवस्थामा साँघुटारका किसानले आफ्ना बालिहरू सडक छेउमै लगाउन बाध्य छन्। सडक मर्मत नहुँदा उनीहरूको खेती नै सडकको सजावट बनेको छ। परिणामतः, सडकमा धुलो र बाली मिसिएको यस्तो दृश्य देखिन्छ, जसलाई ‘नेपालमै मात्र सम्भव’ भनिन्छ।
कार्यालय र नागरिकबीचको दूरी
पूर्वाधार विकास कार्यालय मन्थलीमै बसेर ‘विकास’ लेख्छ, तर गाउँले साँघुटारमा धुलो खाँदै बस्छन्। कार्यालयका फाइलमा कालोपत्रे पूरा हुन्छ, तर गाउँको बाटोमा धुलोपत्रे मात्र देखिन्छ। यही अन्तरलाई गाउँलेहरूले व्यंग्य गर्दै भन्छन्—“कार्यालयका गाडीहरू मन्थलीकै पक्की सडकमा घुम्छन्, तर हाम्रो बाटोमा कहिल्यै आउँदैनन्।”
सडक निर्माण र मर्मतको मूल समस्यामा ध्यान दिनु भन्दा पनि कार्यालयका कर्मचारीले बैठक, निरीक्षण र प्रतिवेदन तयार पार्नमै समय खर्च गर्छन्। काम भने ‘दशैँपछि’ को प्रतिक्षामा थुनेर राखिन्छ।
जनताकै कटाक्ष
स्थानीये भन्छन्—“पूर्वाधार विकास कार्यालयले सडक बनाउनुभन्दा आश्वासन कालोपत्रे गर्नमा बढी दक्षता हासिल गरिसकेको छ।” कतिपय युवाले त सामाजिक सञ्जालमा नै लेख्न थालेका छन्—“सडक हेर्ने भन्दा राम्रो हो, सडकमा सवारी साधन चलाई देखाउने। तर यहाँ उल्टो छ—सडक निरीक्षण गर्ने फोटो त छ, गाडी चल्ने अवस्था भने छैन।”
कोलन्जोरघाट–साँघुटार सडक रामेछाप र ओखलढुँगाका यात्रुका लागि छोटो बाटो हुनसक्छ। तर, विकासको ढिलासुस्ती, अनुगमनको संस्कार, र कार्यालयको आश्वासनमय प्रवृत्तिले यसलाई अझै ‘सडक’ भन्दा बढी ‘कष्टकर यात्रा’ बनाइदिएको छ।
अब गाउँलेहरूलाई आशा छैन कि तत्काल सडक पूर्ण रूपमा कालोपत्रे हुनेछ। उनीहरूलाई आशा छ भने यत्ति मात्र—कुनै दिन पूर्वाधार विकास कार्यालयले आफ्नो नाम सावित गर्नेछ, र सडक वास्तवमै धरातलमै बन्नेछ। तर, त्यो दिन कहिले आउँछ? अहिलेसम्मको अनुभव हेर्दा लाग्छ, उत्तर फेरि त्यही हो—“दशैँपछि।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button