नेपाल बाल संगठन रामेछापको अध्यक्षमा घिमिरे

रामेछाप । नेपाल बाल संगठन, जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले सुन्दर घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि पूर्ण समिति अनुमोदन गरेको हो। यसअघि तदर्थ समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका घिमिरेले पुनः नेतृत्व पाएका छन्।
निर्वाचित उपाध्यक्षमा द्वारिका कार्की, सचिवमा पवन घिमिरे र कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकी रहेका छन्। त्यस्तै सदस्यहरूमा सीता पुरी, भवानी खड्का, रमेश हरि श्रेष्ठ र सन्देश साहि चयन भएका छन्।
अधिवेशनमा संगठनको विगतका गतिविधिहरू, बालबालिकाको अधिकार संरक्षण, शिक्षा तथा सिकाइ वातावरण सुधार, साथै आगामी दिनमा बालमैत्री कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता बारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले जिल्ला स्तरीय गतिविधिलाई अझ सुदृढ बनाउँदै बालमैत्री पहललाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले संस्थालाई थप सक्रिय बनाउँदै बाल संरक्षण र विकास सम्बन्धी कार्यक्रमलाई प्राथमिकतापूर्वक अघि बढाउने प्रतिवद्धता जनाएको छ।



