Trending

एमाले निकट व्यवसायी कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश

रामेछाप । नेकपा एमाले निकट व्यवसायी तथा रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार मन्थलीस्थित बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै उनी औपचारिक रूपमा काँग्रेसमा आबद्ध भएका हुन् ।

श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूले स्वागत गरेका थिए । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरको समेत उपस्थिति रहेको थियो ।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै महासचिव श्रेष्ठले सभापति तामाङ नेतृत्वको टिमबाट विगतदेखि नै सकारात्मक अभिभावकत्व र सहयोग पाउँदै आएको उल्लेख गर्दै यही विश्वासका कारण काँग्रेसमा प्रवेश गरेको बताए ।

काँग्रेस प्रवेश गरेका श्रेष्ठलाई खादा लगाएर स्वागत गर्दै पार्टी नेताहरूले आगामी दिनमा पार्टी संगठन सुदृढीकरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा व्यवसाय गर्दै आएका युवा व्यवसायी श्रेष्ठ यसअघि एमाले निकट रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उद्योग वाणिज्य संघको अघिल्लो निर्वाचनमा एमाले निकटकै व्यवसायी नवीन थापा मगरलाई काँग्रेस निकट व्यवसायीहरूसँग सहकार्य गरी अध्यक्ष पदमा निर्वाचित गराउन भूमिका खेलेका श्रेष्ठ भने त्यस निर्वाचनमा तटस्थ जस्तै रही महासचिव पदमा निर्वाचित भएका थिए ।

संघको यही माघ १० गते साधारण सभा र चैतभित्र अधिवेशन हुन लागिरहेको सन्दर्भमा महासचिव श्रेष्ठको काँग्रेस प्रवेशलाई चासोका साथ हेरिएको छ । केहीले यस कदमलाई आगामी नेतृत्व भूमिकाको तयारीका रूपमा समेत व्याख्या गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button