नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ।
जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित गरिएको थियो। विवाद चर्किँदै गएपछि पार्टीका नेता तथा कार्यकर्ताले केन्द्रीय अध्यक्ष, महासचिव, संगठन विभाग र प्रदेश कार्यालयमा उजुरी दिएका थिए।
उजुरीपछि बसेको छैठौँ पूर्ण जिल्ला कमिटी बैठकमा अध्यक्षता ग्रहण गर्दै जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम कडेरियाले सचिवालय गठन प्रक्रिया हाललाई स्थगित गरिएको घोषणा गरेका थिए । बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेल, गीता कार्की तथा जिल्ला कमिटी पदाधिकारीहरू सहभागी थिए। नेतृत्वबाट प्रक्रिया सञ्चालनमा केही कमी–कमजोरी भएको स्वीकार समेत गरिएको थियो।
बैठकका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय सदस्य माधव ढुंगेलले पनि कार्यकर्ता बीच व्यापक असन्तुष्टि देखिएकाले सचिवालय गठन स्थगित गरिएको जानकारी सबै माझ खुलस्त गराए माथिको निर्णयको पर्खाइमा रहेको बताए ।
यसअघि पौष २१ गते जिल्ला पार्टी नेतृत्व, केन्द्रीय सदस्य तथा असन्तुष्ट नेता–कार्यकर्ताबीच करिब ६ घण्टा लामो छलफल भए पनि सहमति जुट्न सकेन। सोही कारण सचिवालय बैठक पटक–पटक समय तोकिए पनि सञ्चालन हुन नसकेको मनोनीत भएका एक सचिवालय सदस्यले बताए ।
यहि नाम लिस्ट भएको सचिवालय गठन विषयमा यसअघि भाद्र महिनामै पूर्व जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईं र जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरिया बीच विवाद भएको र त्यसबेला पनि प्रक्रिया स्थगित भएको जिल्ला कमिटी सदस्यले जानकारी दिए । पछिल्लो बैठकमा भने हालको नेतृत्वले पाँचौँ जिल्ला कमिटी बैठकबाट म्यान्डेट लिएर सचिवालय सदस्य टुंग्याइ सकेको दाबी गरेको थियो।
तर असन्तुष्ट पक्षले तत्काल पूर्व इन्चार्जसँग स्पष्टता लिन आग्रह गरे पछि नव निर्वाचित केन्द्रीय सदस्य माधव ढुंगेल र पुर्व जिल्ला ईन्चार्ज कमल चौलागाई बिच भिडियो कल मार्फत कुराकानी भएको पनि एक जिल्ला कमिटी सदस्यले बताए । सो क्रममा पूर्व इन्चार्ज कमलप्रसाद चौलागाईंले उक्त दाबी अस्वीकार गर्दै झुटा आरोप लगाएर अर्काको टाउकोमा दोष थोपर्ने काम नगर्न चेतावनी दिएको असन्तुष्ट पक्षको भनाइ छ।
विधि–विधान बाहिर गएर बैठक सञ्चालन गर्न खोजिएको भन्दै असन्तुष्ट समूहले चर्को विरोध जनाउँदै जबर्जस्ती निर्णय भए जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरी मिडियामार्फत सार्वजनिक गर्ने चेतावनी दिएका थिए।
भोलिपल्ट सम्पन्न छैठौँ पूर्ण जिल्ला कमिटी बैठकले भने फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका ८ जना उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।
नेकपा एमाले रामेछापमा अघिल्लो नेतृत्वले समेत सचिवालय गठन गर्न नसकेको र वर्तमान नेतृत्वले पनि आसेपासे केन्द्रित निर्णय गरेको आरोपपछि इमान्दार र वफादार कार्यकर्ताले विरोध जनाएका हुन्।
नजिकिँदै गरेको प्रतिनिधी सभा को निर्वाचन र २०८४ को स्थानीय / प्रदेशको निर्वाचन को टिकट आफ्नो पकडमा पार्ने गरी गरिएको बिभिन्न षडयन्त्र र चुनावको मुखमा पार्टीलाई कमजोर बनाउने प्रयास भएको ठहर गर्दै नेतृत्वलाई सचेत गराउन खबरदारी गरिएको उनीहरूको भनाइ छ।



